प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
काठमाडौं । न्यायपालिकाको नेतृत्वबाट घर फर्किने बेला सर्वोच्च अदालतले अपबाद बाहेक प्रधानन्यायाधीशलाई शुभकामनासहित बिदाइ गर्ने प्रचलन छ ।
नेतृत्वमा आउँदा फुलमाला र खादाले स्वागत गर्ने र अवकास हुँदा मायाको चिनो प्रदान गर्दै सेवानिवृत्त जीवनका लागि शुभकामना दिने प्रचलन पुरानै हो । सर्वोच्च अदालतको जस्तै यतापट्टी सर्वोच्च अदालत बार एशोसिएसनले पनि प्रधानन्यायाधीशको स्वागत र बिदाइ गर्ने परिपाटी छ । सर्वोच्च अदालत स्थापनासँगै गठन भएको बारको इतिहास पनि सात दशक पुरानो छ ।
तर पछिल्लो समय प्रधानन्यायाधीशबाट अनूपराज शर्माको बिदाइपछि सर्वोच्च बारबाट यस्तो परिपाटीमा ‘ब्रेक’ नै लागेको थियो ।
६५औँ वसन्त पार गरी बिदाइमा फुलमालाको हार्दिकता शुभकामना मात्र नभएर एउटा मिठो सम्झना पनि हो । यसले बिदाइ हुने र गर्नेहरु जो जहाँ भए पनि माया र सद्भाव मनमा जगाएर राख्दछ ।
सर्वोच्च बारले यसअघि निर्विबाद बन्न नसकेको भन्दै शर्मापछि बाह्रजना प्रधानन्यायाधीशलाई बिदाइ नै गरेन । तत्कालीन प्रधानन्यायाधीश शर्मालाई भने बार हलमा आमन्त्रण गरेर भव्य कार्यक्रमसहित बिदाइ गरेको थियो । जबकि शर्मा जम्माजम्मी तीनमहिना मात्र प्रधानन्यायाधीश बनेका थिए ।
मुद्दा मामिला, न्यायाधीश नियुक्ति, कानुन व्यवसायीलाई गर्ने व्यवहार, विकृति विसंगति कुनै न कुनै विवादमा परेको कारण देखाएर अवकासका बेला बारले हार्दिकता देखाउने गरेको थिएन । शर्मा २०६६ साल चैत १३ गते अवकास भएका थिए ।
बारले त्यसपछिका प्रधानन्यायाधीश क्रमशः रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर ज. ब. रा., हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई बिदाइमा डाकेन । तर, निवर्तमान प्रधानन्यायाधीश प्रकासमान सिंह राउत भने १७ वर्षपछि बारबाट विरलै बिदाइ पाउने ‘भाग्यमानी’ बनेका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको स्वागतसँगै सर्वोच्च बारले सेवा निवृत्त राउतको बिदाइ गर्यो । बिदाइको क्षण राउत खुसीसँगै भावुक पनि देखिए । सायद बारका सहकर्मीसँग झन्डै चार दशक कानुन व्यवसायमै बिताएको पद सम्झिए । सम्भवतः हृदयस्पर्शी क्षण भएर पनि होला ।
उनले बार हलमा छोटो मन्तव्य दिए । उनले नेतृत्वमा निष्ठा र इमानदारिता भए न्यायमा सुधार सम्भव रहेको बताए । उनले भने, ‘‘आफु बेचिनु भएन, त्यसपछि कसैले किन्न पनि सक्दैन ।’’
राउतले न्यायका दृष्टिले न्यायपालिका ठूलो रहे पनि त्यहाँभन्दा ठूलो राष्ट्रियता र स्वाभिमान ठूलो रहेको बताए ।
‘‘यसभन्दा ठूलो राष्ट्रियता रहेछ र माटो रहेछ,’’ उनले भने । राउतले नवनियुक्त प्रधानन्यायाधीश डा.शर्मालाई बधाई दिँदै न्यायको गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न पनि शुभकामना पनि दिए ।
‘‘अनूपराज शर्मापछि कुनै प्रधानन्यायाधीशको बिदाइ भएन । आज राउतको बिदाइ भयो,’’ सर्वोच्च बारका उपाध्यक्ष अमर राउतले बाह्रखरीसँग भने, ‘‘सर्वोच्च बारले आउनेलाई न्यानो स्वागतसँगै जानेलाई सुखद् बिदाइ एकसाथ गरेको छ ।’’
सर्वोच्च बारका सचिव रमन कर्णले पनि १७ वर्ष यता हार्दिक बिदाइ पाउने प्रधानन्यायाधीश राउतमात्रै रहेको बताए । उनका अनुसार यसबीचमा अरु प्रधानन्यायाधीश बिदाइ पाउने कोटीमा परेका थिएनन् ।
कार्यक्रमपछि राउतले नवनियुक्त प्रधानन्यायाधीश शर्मा र कानुन व्यवसायीसँगै चियापानमा सहभागी भए । त्यसपछि शर्मा बार छेउको गेटबाट सर्वोच्चतिर छिरे भने राउत घर फकिए । बार पदाधिकारीले राउतलाई बारको गेटसम्मै पुगेर बिदा गरे ।
इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
औषधी आपूर्ति सहज बनाउन सरकारले गर्यो ४ निर्णय
एसीसी महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
सगरमाथा क्षेत्रमा हराइरहेका दावा ६ दिनपछि भेटिए
सीमा विवादमा वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी, संसदमा बहस चर्कियो
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी, दुई तला क्षतिग्रस्त
प्रतिक्रिया