कोशी प्रदेशमा आज सानो आकारको मन्त्रिमण्डल बनाइँदै, एमाले सहभागी हुने, माओवादी खाली हात

सुन्नुहोस्
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइने भएको छ। आज कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । सम्भावित मन्त्रीको नाम पनि तय भइसकेको तर अन्तिम समयसम्म कुनै फेरबदल हुन सक्ने भएकाले सार्वजनिक नगरिएको नेताहरूले बताएका छन्।

मन्त्रिमण्डल गठनलगत्तै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेश सभालाई चिठी पठाउनेछन् । आइतबार घटस्थापनाको सार्वजनिक बिदा परेकाले सोमबार कार्यालय खुल्नेबित्तिकै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दिने तयारी छ । कांग्रेसको कार्की खेमा र एमालेबीच बुधबार नै विश्वासको मत लिने गरी समझदारी भएको छ । केही गरी ढिलो भए बिहीबारभित्रमा विश्वासको मत लिइसक्ने तयारी छ ।

बाँकी शक्ति साझेदारीका कुरा विश्वासको मत लिएपछि मात्र गर्ने समझदारी भएको भण्डारीको भनाइ छ। आगामी मार्गचित्र र शक्ति साझेदारीबारे शीर्ष तहमा छलफल गर्न मुख्यमन्त्री कार्की शनिबार नै काठमाडौँ आएका थिए । काठमाडौंमा उनले नेता शेखर कोइरालालगायतसँग छलफल गरेका थिए ।  

छलफलमा सहभागी नेताहरूका अनुसार, मुख्यमन्त्री कांग्रेसबाट चुनिएकाले अब सभामुख एमालेले पाउन सक्नेछ। उपसभामुख राप्रपालाई दिन सकिने गरी छलफल भएको छ ।

यो सरकारमा माओवादीलाई सामेल गराउने कि नगराउने भन्नेचाहिँ केही छलफल नभएको भण्डारीको भनाइ छ । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्र आङ्बोले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने बताएका छन् । कार्की एमालेको मुख्यमन्त्री हो कि गठबन्धनको भनेर कित्ता स्पष्ट पार्नुपर्ने र त्यसपछि माओवादी सहभागी हुने–नहुने कुरामा प्रवेश हुने उनको भनाइ छ ।

आङ्बो सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदार थिए। तर, गठबन्धनकै एउटा घटक कांग्रेसका ८ सांसद एमालेको समर्थन लिएर केदार कार्कीको पक्षमा उभिँदा आङ्बो मुख्यमन्त्री बन्नबाट वञ्चित भए।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुख्यमन्त्री कार्कीलाई गठबन्धनले विश्वासको मत दिने बताएका छन् । कांग्रेस सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाले शनिबार बिहानै गठबन्धन यथावत् राख्ने सहमति गरेका थिए । अब कांग्रेसले एमालेसँग सहकार्य गर्ने कि पूर्ववत् गठबन्धनमा रहने भन्ने प्रश्न पनि यस घटनाले जन्माएको छ।

कोशीमा अब सर्वपक्षीय सरकारको सम्भावनाबारे पनि छलफल गर्ने कार्कीको प्रयास रहेको छ भने एमालेलेचाहिँ कार्कीको इमानदारिताको परीक्षा सुरु भएको बताएको छ । एमाले महासचिव शंकर पोखरेलले सिन्धुलीको एक कार्यक्रममा कार्कीको इमानदारिता कायम रहे एमालेले सधैँ समर्थन रहने बताएका छन्। एमालेको साथ छाडेर पूर्ववत् गठबन्धनमा फर्किए साथ समर्थन नगर्ने चेतावनीका रूपमा पनि यसलाई बुझ्न सकिन्छ।

यसैबीच, पूर्वमुख्यमन्त्री उद्धव थापाले कांग्रेसको कोशी प्रदेश सभा संसदीय दलका नेताको पदबाट राजीनामा दिएका छन्। कांग्रेस संस्थापनले अब कार्कीलाई संसदीय दलको नेता बनाएर केन्द्रीय सत्ता गठबन्धनअनुसारकै सरकार बनाउन प्रयास गरिरहेको छ। तर, शेखर कोइराला संरक्षित कांग्रेसको विद्रोही समूहले पूर्ववत् गठबन्धनमा रहने निर्णय लिन्छ वा एमालेसँगको सहमतिअनुसार पाइला चाल्छ, सबैको चासो यसैमा केन्द्रित भएको छ।