खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले


कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीहरूले सोमबार बिहान खाना खान पाएनन्। 

होल्डिङ सेन्टरमा राधा स्वामी सत्सङले नै खाना र पानीको बन्दोबस्त गर्दै आएको थियो। सुकुम्बासीलाई खाना खुवाउन होल्डिङ सेन्टरमै मेस चलाइएको थियो। 

खाना पकाउने र खुवाउने टोली आइतबार राति नै भाँडाकुडा उठाएर हिँडेपछि सोमबार बिहान सकुम्बासीहरू भोकै बस्नुपर्ने अवस्था आएको हो।

अबेर बिहानसम्म खाना पानीको व्यवस्था नभएपछि त्यहीँको समूहले पैसा उठाएर चिउरा दालमोठ किनेका थिए। 

खाना खुवाउने टोली होल्डिङ सेन्टरबाट हिँडेको भन्ने विषय सार्वजनिक भएपछि शान्ति सेवा गृह नाम गरेको संस्थाका केही व्यक्तिहरू चिउरा र दही लिएर आएका थिए।

तर होल्डिङ सेन्टरमा रहेकाहरूले उनीहरूको सहायता अस्वीकार गरिदिएका थिए।

'यो राज्यको दाायित्व हो। एकदिन संस्थाले खुवाएर हुँदैन भनेर हामीले अस्वीकार गर्‍यौं,' एक सुकुम्बासीले भने।

त्यसपछि भएकाहरूसँग पैसा उठाएर उनीहरूले नै चिउरा दालमोठ किनेर वितरण गरेका थिए। 

होल्डिङ सेन्टरमा अहिले काठमाडौं महानगरका नगर प्रहरीहरू पुगेका छन्|
|