खोप लगाउन जाँदै गर्दा कर्णाली नदीमा डुंगा दुर्घटना: ३ बेपत्ता

१७ साउन, काठमाडौं । आइतबार दिउँसो १२ बजे कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।

डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बच्चालाई सुर्खेतको स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो।

दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य छ ।