ओलीले गलत गरे, अब चुनावबाटै गलत सावित गरौँ
चुनावबाट भागेर कसैले लोकतन्त्रको रक्षा गर्छु भन्छ भने त्योजस्तो पाखण्डपन अर्को केही हुने छैनराजनीतिक स्थायित्व र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः आफै पूरा कार्यकाल काम गर्न नपाएपछि प्रतिनिधिसभा नै विघटन गरिदिएका छन् । उनको यस कदमको सर्वत्र आलोचना भइरहेको छ ।
यो सुखद र स्वागतयोग्य कदम अवश्य होइन । तर, ओलीको विरोध गर्ने नाममा सडक तताउने वा अस्थिरता सिर्जना गर्नेतिर लागेमा ओली झनै बलिया र लोकतन्त्र अझै कमजोर बन्ने जोखिम देखिएको छ । अझ यो स्थितिमा सम्हालिएन भने लोकतन्त्रविरोधीले नै फाइदा उठाउने सम्भावना बढी रहेको छ ।
ओली कदमको न्यायिक परीक्षा पनि हुने नै छ । तर, न्यायालयले दिने फैसलाभन्दा जनताले दिने फैसला लोकतन्त्रमा बढी महत्वको हुन्छ । त्यसकारण जनताको अदालतमा जाने निर्णय भइसकेपछि सबै दल र अन्य पक्षहरुले त्यसतर्फको तयारी गर्नु सबैभन्दा बढी बुद्धिमानी हुनेछ । ओलीको यस कदमलाई गलत प्रमाणित गर्ने उपयुक्त माध्यम र अवसर पनि चुनाव नै हो ।
अब सबै राजनीतिक दल र राजनीतिक समाजले पनि ओलीलाई निर्वाचन गराउन बाध्य पार्न सक्नुपर्छ । जब विरोध र अवरोध भइरहन्छ, सत्तामा हुनेलाई निर्वाचनबाट भाग्न बहाना मिलिरहन्छ । सरकारले घोषणा गरेकै मितिलाई आधार मान्ने हो भने अब चार महिनामा मात्र बाँकी छ । यस कार्यका निम्ति सरकारले आवश्यक तयारी गर्नुपर्ने हुन्छ । सरकार बन्दोबस्तीको तयारीमा लागिरहेकै बेला दलहरुले आफ्नो तयारी गर्न सक्नेछन् । माथिदेखि तलसम्म चुस्त संगठन निर्माण र मतदातासँगको सम्बन्ध विकासका काम यसबीचमा गर्न सकिन्छ । ओलीको यो कदम यसकारण बेठीक छ भनेर मतदातालाई बुझाउने उपयुक्त अवसर दलहरुलाई छ ।
नेकपाभित्रै पनि ओलीका कार्यशैली र निर्णय धेरै अघिदेखि आलोचित हुँदै आएका हुन् । आलोचना गर्ने नेताहरुलाई पनि ओलीभन्दा आफू अब्बल रहेको प्रमाणित गर्न पनि चुनाव स्वीकार्नुको विकल्प छैन । पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बहुमत देखाएर चार महिनामै ओलीलाई सत्ताच्यूत गर्ने अवसरका रुपमा उपयोग गर्नुपर्छ ।
लोकतन्त्रमा जनमतभन्दा ठूलो निर्णायक विषय अरु छैन । जनताले गर्ने फैसलाभन्दा माथिको अदालत पनि अर्को छैन । त्यसकारण ओली कदमको वैधानिकता जनताबाटै जाँचिनुपर्छ । नेताहरुको लोकप्रियता पनि जनताबाटै जाँचिनुपर्छ । जनताको अदालतसामु जान डराउने वा भाग्ने हो भने त्यो विधि अझै जोखिमपूर्ण हुन सक्छ । त्यसले थप दुर्घटना निम्तिन सक्छ । चुनावी सरकारको आयु सक्दो छोटो बनाउन सके मात्र लोकतन्त्र, संविधान र यो व्यवस्थाको जय हुनेछ । नभए मुलुक अझै शून्यता र अराजकतामा प्रवेश गर्न सक्नेछ ।
बाह्य शक्तिहरुले पनि राजनीतिक संकटको लाभ लिन खोज्नेछन् । यहाँ असन्तुष्टिका नाममा सडकमा नाराबाजी गर्ने, तोडफोड गर्ने, सरकारलाई अर्को अप्रिय कदम चाल्न बाध्य पार्ने र यहाँ अरु अस्थिरता एवं अँध्यारो मार्गमा अग्रसर गराउने अनेक प्रयास हुनेछन् । त्यसले निर्वाचनको सम्भावनालाई अरु पर धकेल्नेछ । यसबाट संविधान नै संकटमा पर्न सक्नेछ । ६० वर्षको नेपाली जनताको आकांक्षाअनुरुप संविधानसभाबाट बनाइएको संविधानको नै अवसान गराइएमा मुलुकमा अर्को ठूलो निराशा र अराजकताले घर गर्नेछ ।
कतिपय बाह्य शक्ति यो संविधानप्रति सन्तुष्ट छैनन् । संविधान जारी गर्दाको असन्तुष्टि नाकाबन्दीमा गएर पोखिएको थियो । तसर्थ, यो संविधान असफल गराउन त्यसबेलैदेखि कतिपय शक्ति लागिपरेका थिए र अझै लाग्ने छन् । संविधानको रक्षा गर्नका लागि पनि अब चाँडोभन्दा चाँडो जनप्रतिनिधिमूलक संस्था फर्काउनुपर्छ । त्यो भनेको ताजा जनादेशबाट मात्र सम्भव हुनेछ । विघटन भइसकेको प्रतिनिधिसभा सडक वा न्यायालयबाट फर्काउने प्रयासमा लागेमा त्यो अर्को समस्याको पोको भएर निस्किनेछ ।
यदि चुनावबाट भागेर लोकतन्त्रको रक्षा गर्छु भनेर कसैले भन्छ भने त्योजस्तो ढोँगी, आडम्बरी र पाखण्डपन अर्को केही हुने छैन ।
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
प्रतिक्रिया