न्यायमा ढिलासुस्तीको ‘भाष्य’ उच्च अदालत पाटनमा यसरी तोडियो
काठमाडौं । ‘ढिलो न्याय दिनु, न्याय नदिनुसरह हो’ भन्ने मान्यता अब कम्तीमा उच्च अदालत पाटनको हकमा कायम हुने छैन । कारण, उच्च अदालत पाटनले दुई वर्ष नाघेका मुद्दा शून्यमा पुर्याएको छ ।
शुक्रबार (जेठ २९)बाट दुई वर्ष नाघेका मुद्दाको छिनोफानो भएको छ । चालु आर्थिक वर्षमा ४०७ थान यस्ता मुद्दा अघिल्लो सालबाट जिम्मेवारी सरेर बाँकी थिए ।
अब यो अदालतमा १८ महिना नाघेका मुद्दाको बक्यौता पनि ८३ मा सीमित भएको छ । एक वर्षभन्दा बढी अवधिका मुद्दा ४३० थानमा झरेको उच्च अदालत पाटनका प्रवक्ता प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्य पूरा गर्न ६ महिनाभित्रै मुद्दाको अंग (प्रक्रिया) पुर्याएर त्यही अवधिमा अन्तिम टुंगो लगाउने अभियानतर्फ उच्च अदालत पाटन अघि बढेको छ । पञ्चवर्षीय योजना सुरु हुँदा यो अदालतमा ०८१ असार मसान्तसम्म १८ महिना नाघेका मुद्दा एक हजार ३५७ थान थाती थिए ।
सार्वजनिक सरोकारका रिट निवेदनलाई ६ महिनाभित्र फर्छ्योट गर्न भनेर अदालत लागिपरेको उनले बताए ।
यसरी भयो सम्भव
१८ महिना नाघेका मुद्दा शून्यमा झार्ने चरणमा पुग्दा यो अदालतले सूचना प्रविधिमा पनि फड्को मारेको छ ।
अभिलेख प्रणालीमा ‘डिजिटलाइज’ र प्रविधिको सहयोगमा मुद्दा व्यवस्थापन चुस्त पारिएको छ । रणनीतिक योजनाको मकसद पूरा गर्न ६ महिनाभित्रै मुद्दाको अंग (प्रक्रिया) पुर्याएर त्यही अवधिमा अन्तिम टुंगो लगाउन सकिने चरणमा अदालत पुगेको सूचकहरूबाट देखिएको छ । न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुरूप यो अदालतले वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको थियो ।
आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ का निम्ति न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना लागु भएको छ । सोहीअनुसार वार्षिक कार्ययोजना तय गरियो । उक्त योजना लागु हुँदा १८ महिना नाघेका तथा आउँदो असार मसान्तसम्म यो अवधि नाघ्ने अवस्थामा रहेका मुद्दाहरूको लगत शून्यमा पुर्याउने लक्ष्य लिई काम सुरु गरिएको थियो ।
सोहीअनुसार धमाधम काम अघि बढ्यो । ‘टिमवर्क’को परिणाम अन्ततः अदालतले लक्ष्य छोएको अदालत प्रशासनले जनाएको छ ।
उच्च अदालत पाटनका रजिस्ट्रार डा. अशोककुमार क्षेत्री हरेक काम–कारबाही प्रविधिमैत्री बनाउने गरी कर्मचारीलाई कार्यविवरण तोकेर कार्यादेश दिइएको बताउँछन् । समयमै काम सम्पन्न गरी समग्र अदालतप्रतिको धारणा निर्माण गर्न आफूहरूको सिंगो टिम लागिपरेको उनको भनाइ छ ।
“आदेश कार्यान्वयन गर्ने, तामेली दृष्टिमा राखी मुद्दा दर्ता गर्ने र हरेक काम–कारबाहीलाई प्रविधिमैत्री बनाउने गरी हरेक कर्मचारीलाई कार्यविवरण तोकेर कार्यादेश दिइएको छ,” रजिस्ट्रार डा. क्षेत्रीले भने, “अहिलेको समय भनेको आ–आफ्नो कार्यसम्पादन गरी आफ्नो र अर्कोको मूल्यांकन गर्ने समय हो ।”
पछिल्लो समय प्रत्येक इजलासमा क्यूआर कोडबाटै मुद्दाको अवस्था थाहा पाउने व्यवस्था गरिएको छ । प्रत्येक इजलासबाहिर मुद्दा सुनुवाइको अवस्थाको जानकारीसहित डिस्प्ले राखिएको छ ।
बयान, बकपत्र र बहसका निम्ति आवश्यकताअनुसार अनलाइन प्रणालीमार्फत पनि काम हुने व्यवस्था मिलाइएको छ ।
सरकारी कार्यालयहरूमा म्याद तथा पेसीको सूचना इमेलमार्फत आदानप्रदान हुने र अनलाइनमार्फत नै तारेख लिन सकिने व्यवस्था कार्यान्वयनमा छ ।
प्रत्येक दिन मुद्दा सुनुवाइका निम्ति गोला प्रक्रिया सम्पन्न भएपश्चात् सबै न्यायाधीश, रजिस्ट्रारलगायत प्रशासनिक पदाधिकारीको उपस्थितिमा पुराना मुद्दा फर्छ्योट र न्यूनीकरण गर्ने सम्बन्धमा समीक्षाको अभ्यास समेत यहाँ छ ।
सेवाग्राहीका पीरमर्का, गुनासो सम्बोधन गर्न ‘मिट द जज,’ ‘जुडिसियल आउटरिच’ कार्यक्रम समेत सञ्चालनमा ल्याइएको छ । यसले गुनासो सम्बोधन गरेर न्यायमा सुधार हुने अदालतको अपेक्षा छ ।
तीन चिज भए हुने रहेछ : मुख्य न्यायाधीश कुँवर
शीघ्र न्यायको लक्ष्यमा पुग्न तीन चिजले काम गरेको उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले सुनाए । “यो सबै उपलब्धि हासिल हुनुमा तीन चिजले काम गर्यो । प्रविधि, व्यवस्थापन र निरन्तरको निगरानी,” कुँवरले भने, “न्यायसम्पादनलाई प्रविधिमा आधारित र पारदर्शी गर्ने भनेर लागेका छौँ । छितो न्याय पाउँदा सेवाग्राही पनि अलमलिनु पर्दैन । पारदर्शी हुँदा अरू खालका गुनासा पनि नहुने भए । अल्टिमेट्ली नतिजा र डाटाबाटै काम देखियोस् भन्ने हो ।”
कुँवरले अब १८ महिना पुराना मुद्दा पनि सकाउन खोजिरहेको बताए । यस्ता मुद्दा ८३ थान मात्र बाँकी छन् । उनले भने, “हामी नजिकमा छौँ । एक वर्ष नाघेका मुद्दालाई पनि सारभूत रूपमा घटाउँदै छौँ ।”
सार्वजनिक सरोकारका रिटलाई पनि सकेसम्म ६ महिनाभित्रै सकाउने योजनामा अदालत छ । अहिले ६ महिना नाघेका रिट ५०–५२ को संख्यामा रहेको कुँवरले जानकारी दिए ।
तल्लो अदालतको आदेशउपर आउने निवेदन प्रतिवेदन पनि अधिकतम तीन महिनाभित्रै फर्छ्योट गर्ने योजनाका साथ अघि बढेको उनले सुनाए ।
थुनुवा रहेका मुद्दा पनि एक वर्ष नाघ्न नदिने भनिएको छ । जिल्ला अदालतबाट थुनाका निम्ति कारागार पठाइएको विषयमा चाँडो सुनुवाइ नहुँदा सफाइ वा थुनामुक्त हुन सक्ने अवस्थामा न्यायमा आघात पुग्ने खतरा रहन्छ ।
“न्यायसम्पादनका सूचक योजनाअनुसार यसो गर्दा शीघ्र न्यायको अनुभूति हुन्छ भन्ने हाम्रो विश्वास छ,” मुख्य न्यायाधीश कुँवर भन्छन्, “तर, कार्यान्वयनको कुरा हाम्रो हातमा मात्रै पनि हुँदैन ।”
विदेशिनैपर्ने युवा बाध्यता चिर्ने सुरुवात बजेटले गरेको अर्थमन्त्री वाग्लेको दाबी
तेहरानमा कतारको पहल
इरानमा शान्ति सम्झौताको विरोध
धवलशमशेर र दुर्गा प्रसाईंको नयाँ पार्टी: लिङ्देनमाथि राजनीतिक गद्दारीको गम्भीर…
राजा गद्दीमा बसेपछि धवलजी र म खप्तड जाउँला : दुर्गा प्रसाईं
च्यानलमा जहाज नियन्त्रण
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरक…
प्रतिक्रिया