ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।
स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । “बेर्ना जलेको जस्तो देखिने र विस्तारै सुक्दै जाने समस्या देखियो”, उहाँले भन्नुभयो, “पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।” उहाँका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ ।
नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
“नगरको प्रमुख खाद्यान्न बाली धान हो”, बुढाऐरले भन्नुभयो, “बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।”
रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उहाँले सुझाव दिनुभयो । सात-सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।
रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गर्नुभयो । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई सम्मानजनक र लाभमुखी व्यवसायका रू…
हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
फलफूल तथा तरकारी ढुवानीमा विशेष सुविधा दिनुपर्नेमा जोड
अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण
पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…
भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया