कांग्रेसमा सहमतिको प्रयासमा ‘ब्रेक’, ‘छुट्टै महाधिवेशन’ गर्ने भन्दै इतरपक्ष फर्कियो प्रदेश

नेपाली कांग्रेसमा सहमतिको प्रयासमा ‘ब्रेक’ लागेको छ। संस्थापन र इतर पक्षबिच पछिल्लो एक सातायता संवाद ठप्प छ। गत शुक्रबार उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति खड्काबिच छलफल भएको थियो। दुवै पक्षका प्रस्ताव टेबुल गरेर खड्का र शर्माबिच सहमतिको खोजी भएको थियो।

खड्का निवास गोल्फुटारबाट बाहिरिँदा शर्माले सभापति थापासँग संवाद गरेर सहमतिका लागि पुनः संवादमा बस्ने वचन दिएका थिए। तर, ८ दिनसम्म शर्मा सम्पर्कमा नआएको खड्काको सचिवालयले जनाएको छ। सामाजिक सञ्जालमा आइतबार स्टाटस लेख्दै खड्काले ३१ दिनदेखि सभापति थापासँग सम्पर्क हुन नसकेको र पार्टी एकतामा कुनै प्रगति नभएको जनाए। 

उनले सो स्टाटस लेखेपछि शर्मा असन्तुष्ट सुनिन्छन्। त्यसपछि शर्माले खड्कासँग सहमतिका लागि अगाडि सारेको प्रस्ताव इतर पक्षका अन्य शीर्ष नेतालाई ह्वाट्स एपमा पठाएका थिए। इतर पक्षका नेताहरूले उक्त प्रस्तावमा कुनै पनि जवाफ दिएका छैनन्।

शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले त शर्माले ‘प्रस्ताव पठाएँ’ भन्दै भ्रम फैलाएको बताए। प्रकाशशरण महतले शर्माबाट प्रस्ताव प्राप्त नभएको भन्दै संस्थापन पक्षसँग कुनै संवाद पनि नभएको बताए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट विभाजित कांग्रेसका नेता तथा कार्यकर्तालाई एक ठाउँमा जोड्न सभापति गगन थापाले गरेको संवादले सार्थकता पाउन सकेको छैन। 

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले नियमित महाधिवेशनको पक्षमा उभिएका नेताहरूसँग वैशाख ६ बाट पहिलो पटक संवाद थालेका थिए। निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई पहिलो पटक भेटेका थापाले वैशाख २२ मा नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबिच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको थियो। त्यसको दोस्रो दिन सभापति थापा उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर खड्का निवास गोल्फुटार पुगेका थिए। 

त्यसपछि कांग्रेसमा औपचारिक रूपमा संवाद हुन सकेको थिएन। संस्थापन र इतर पक्षका नेताहरूबिचको विभिन्न चरणको अनौपचारिक भेटवार्तापछि जेठ दोस्रो साताबाट पुनः संवाद सुरु भएको थियो। सभापति थापा, उपसभापति शर्मा र नेता रमेश लेखकबिच जेठ पहिलो साता हिमालय होटेलमा भएको संवादपछि प्रस्तावसहित सहमतिको खोजी भएको थियो। उक्त छलफलमा सभापति थापा, उपसभापति शर्मा र नेता लेखकबिच कांग्रेसलाई एकताबद्ध बनाउन विभिन्न विकल्पमा कुराकानी भएको थियो। 

विशेष महाधिवेशनमा टेकेर २ जना (पूर्णबहादुर खड्का र शेखर कोइराला)लाई वरिष्ठ नेता र केही केन्द्रीय सदस्य बनाउने थापाको प्रस्ताव छ। १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएकाहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति सदस्यमा मनोनीत गरिने अर्को प्रस्ताव छ।

यस्तै, आपसी सहमति (इतर पक्षको सिफारिस)मा निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, अनुशासन समिति र विधान संशोधन समितिमा सदस्य थप्न सकिने थापाको प्रस्ताव छ।

इतर पक्षले १५ औँ महाधिवेशनका लागि नवीकरण गरिएको क्रियाशील सदस्यतालाई मान्यता, १४ औँ महाधिवेशन र विशेष महाधिवेशनको कार्यसमिति समायोजन, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति, विधान संशोधन समिति र अनुशासन समिति सहमतिमा पुनर्गठन, सहमतिबाट १५ औँ महाधिवेशनको मिति तय, भ्रातृ तथा शुभेच्छुक संस्था सहमतिबाट गठनलगायत सर्त राखेको छ। दुवै पक्षका प्रस्तावमाथि घनिभूत संवाद नहुँदा पार्टीमा एकता कायमका लागि सहमतिको सम्भावनाभन्दा संकट बढेको नेताहरू बताउँछन्।

इतर पक्ष फर्कियो प्रदेश
संस्थापन पक्षसँग चाँडै सहमति नभए सातै प्रदेशमा भेला सम्पन्न गराउने र काठमाडौँमा राष्ट्रिय भेला राखेर छुट्टै महाधिवेशन गर्ने इतर पक्षीय नेताहरू बताउँछन्। इतर पक्षका नेता विमलेन्द्र निधिले जेठ मसान्तपछि एकताका लागि प्रतीक्षा नगर्ने बताए।

‘अहिलेसम्म हाम्रो कुरा १५ औँ महाधिवेशन साझा गरौँ भन्ने हो। त्यो भएन भने हामी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको छुट्टै तयारी गर्छौँ,’ उनले  भने। 

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूह जेठ ३१ मा हुने प्रदेशस्तरीय भेलामा एउटै मञ्चमा देखिने भएको छ। कोइरालाको आह्वानमा हुने संस्थापन इतर पक्षको कोसी प्रदेश भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने नेता केदार कार्कीले बताए। 

उनका अनुसार विराटनगरको मनास्लु होटलमा हुने भेलाको प्रमुख अतिथि कोइराला बन्नेछन् भन् नेताहरू विजयकुमार गच्छदार डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, एनपी साउद, डा मिनेन्द्र रिजाल र राजीव कोइराला प्रमुख वक्ता छन्।

देउवा समूहले यसअघि बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ। जेठ ३० (भोलि) मा मधेस प्रदेश स्तरीय भेला हुँदैछ। नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा हुने भेलाको संयोजन आनन्द ढुंगानाले गरेका छन्।

मधेसमा बारा वा महोत्तरीका जिल्ला सभापतिमध्ये एकको सभापतित्वमा प्रदेश स्तरीय भेलामा संस्थापन इतर पक्षीय नेता कार्यकर्ता उपस्थित हुने नेताहरू बताउँछन्। भेलामा उमाकान्त चौधरी, पद्मनारायण चौधरी, आनन्द ढुंगाना लगायत मधेस प्रदेशका ८ वटै जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहने निधिले बताए। 

उनले भने, ‘प्रदेशस्तरीय भेला सकिएपछि राष्ट्रिय भेला गर्छौँ। त्यही भेलाबाट १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा हुन्छ। नयाँ ढंगले अगाडि बढ्छौँ।’ 

खड्काले पनि आफू निकट नेताहरूसँग संस्थापन पक्षसँग सहमति हुन नसके १५ औँ महाधिवेशनका लागि फाइनल गरिएको ९ लाख १३ हजार क्रियाशील सदस्यबाटै फरक ढंगले अगाडि बढ्ने बताउँदै आएका छन्।

प्रदेश भेलामा एक ठाउँमा देखिएका देउवा र कोइराला समूहमा छुट्टै महाधिवेशनसम्मको तयारीमा भने एक मत छैन। कोइराला पक्षीय नेता बद्री पाण्डेले आफूहरू सहमतिकै प्रयासमा रहेको भन्दै छुट्टै महाधिवेशनसम्म जान नसकिने बताए। 

‘कोसीको भेला पार्टी एकताको दबाब सिर्जनाका लागि हो। छुट्टै महाधिवेशनसम्म जाने भन्ने छैन। शेखर दाइले एकताकै लागि भनिराख्नुभएको छ,’ उनी भन्छन्।

कोइरालानिकट नेता केदार कार्कीले भने आक्रमक प्रतिक्रिया दिए। 

‘शेखर दाइलाई अगाडि बढ्नुहोस् भनेका छौँ। कोसीको भेलाबाट एउटा निष्कर्षमा पुग्छौँ। प्रदेशबाट सानेपालाई सहमतिका लागि दबाब बढाउँछौँ,’ उनले भने, ‘सहमति भएन भने चार हजार मान्छे जम्मा भएर उनीहरू (संस्थापन पक्ष)लाई सानेपाबाट लखेट्छौँ। कांग्रेस पार्टी उनीहरूको बपौती होइन।’ 

यता संस्थापन पक्षका नेताहरू भने सहमतिका लागि संवाद भइरहेको भन्दै कांग्रेसमा दुई वटा महाधिवेशन हुने अवस्था नआउने बताउँछन्। 

‘नेताहरूबिच संवाद भइरहेको छ। हल्लाखल्ला नभएको मात्र हो। प्रत्येक दिन सहमतिको प्रयास भइरहेको छ,’ सहमहामन्त्री योगेन्द्र चौधरीले भने, ‘पार्टीभित्र छिट्टै सहमति हुन्छ। छुट्टै महाधिवेशन हुने अवस्था आउँदैन।’