खोटाङका किसानको प्रश्न : जनता ठूलो कि बाँदर ?

जनताभन्दा बाँदर ठूलो कि बाँदरभन्दा जनता ठूलो हो ? कि जनता पाल, कि बाँदर मार । जनता पाल्ने हो भने बाँदर मार, बाँदर पाल्ने हो भने जनता मार ।’ यो आक्रोस हो खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी पाथीभराका सुर्य राईको ।

बाँदर नियन्त्रणको माग गर्दै गाउँपालिकाको कार्यालयमा पुगेका किसानको टोलीको प्रतिनिधित्व गर्दै राईले बाँदरले किसानको उठिबास लगाइरहेको बताइरहेका थिए ।


जेठ २९ गते गाउँपालिकाको सभाहलमा अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्का मञ्चमा बसेर किसानको समस्या सुनिरहेका थिए । मञ्चको सामुन्नेमा हलभरी बसिरहेका किसान पालैपालो बाँदर लगायतका जंगली जनावरले आजित बनाएकाले नियन्त्रण गर्ने उपाय खोजिदिन माग गरिरहेका थिए ।

पाथीभराकै किसान चन्द्रबहादुर राईले ‘सरकारलाई जनताको माया छ कि बाँदरको माया छ ?’ भन्दै प्रश्न गरिरहेका थिए । सुरु–सुरुमा सुन्तलाको दाना नखाने बाँदरले पछिल्लो समय पछाडि लगेर बोक्रा उक्काएर खान सिकेको घोर्लेका किसान जमिन राईले सुनाए ।


चिसापानीकै युवा सुमन राईले महिनौं लगाएर उत्पादन गरेको अन्न बाँदरले आधा घण्टामै नष्ट पारिदिने गरेकाले नियन्त्रणको उपाय तत्काल खोजिनुपर्ने धारणा राखे । बाँदर पीडित किसानले बाँदर नियन्त्रणको माग गर्दै गाउँपालिकाको कार्यालय अगाडि नाराबाजी गरेका थिए ।


जन्तेढुंगा गाउँपालिकामा ६ वटा वडा छन् । सबै वडामा बाँदरको समस्या छ । बाँदरकै समस्या देखाएर कतिपय किसान बसाई सर्ने गरेका छन् । बाँदर नियन्त्रणको माग गर्दै ६ वटै वडाका किसान घण्टौं हिँडेर गाउँपालिकाको कार्यालय पुगेका थिए ।

बाँदर नियन्त्रणको विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, किसानबीचमा केही घण्टा छलफल चलेको छ । उनीहरुबीच बाँदर नियन्त्रणका लागि अन्य ठाउँमा अपनाइएका अभ्यास र अनुभव तथा गाउँपालिकाभित्र अपनाउन सकिने उपायका विषयमा छलफल गरिएको थियो ।

चैतको बेला बाँदरलाई हप्तौं दिन लगाएर खेदेर टाढा पुर्‍याएर छाडिदिने, त्यसका लागि आवश्यक खानाखाजाको व्यवस्थापन गर्न गाउँपालिका र किसान एकमत भएका छन् ।

किसानको गुनासो सुनिसकेपछि गाउँपालिका उपाध्यक्ष खड्काले बाँदर धपाउन खटिने स्वयंसेवकका लागि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । यस्तै, बाँदरलाई बचाएर किसानलाई उठिबास लगाउने पक्षमा गाउँपालिका नभएको गाउँपालिका अध्यक्ष राईले बताईन् ।