सार्वजनिक कम्पनी बन्यो इलोन मस्कको स्पेसएक्स, तर नियन्त्रण मस्ककै हातमा रहने
अमेरिकी अन्तरिक्ष प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी स्पेश एक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ७५ अर्ब डलर जुटाएको छ। शुक्रबार शेयर बजारमा सार्वजनिक कारोबार सुरु हुनुअघि कम्पनीले विभिन्न वित्तीय संस्थाहरूलाई प्रतिशेयर १३५ डलरका दरले शेयर बिक्री गर्दै उक्त रकम संकलन गरेको हो।
अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एइसी) मा दर्ता गरिएको विवरणअनुसार, आईपीओपछि स्पेसएक्सको प्रारम्भिक बजार मूल्याङ्कन करिब १.८ ट्रिलियन डलर पुगेको छ। यो मूल्याङ्कन कायम रहेमा कम्पनी विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीहरूमध्ये एक बन्नेछ।
कम्पनीको तीव्र मूल्यवृद्धिसँगै स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी इलोन मस्कविश्वकै पहिलो ‘ट्रिलियनर’ अर्थात् १ ट्रिलियन डलरभन्दा बढी सम्पत्ति भएका व्यक्ति बन्ने सम्भावनामा पुगेका छन्। यद्यपि, अन्तिम मूल्याङ्कन बजारमा हुने माग र आपूर्तिमा निर्भर रहनेछ।
लगानीकर्तामाझ उच्च उत्साह
स्पेसएक्सको आईपीओप्रति संस्थागत तथा खुद्रा दुवै प्रकारका लगानीकर्ताको उल्लेखनीय चासो देखिएको छ। केही वित्तीय विश्लेषकहरूले कम्पनीको शेयर मूल्य १३५ डलरभन्दा माथि पुग्ने अनुमान गरेका छन्। विश्वव्यापी ब्रोकरेज कम्पनी ओपेनहाइमरले त प्रतिशेयर मूल्य १९० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तरिक्ष प्रविधि, उपग्रह इन्टरनेट सेवा, पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधि तथा एआई क्षेत्रमा कम्पनीको आक्रामक विस्तारले लगानीकर्ताको विश्वास बढाएको हो।
संघर्षबाट शिखरसम्म
स्पेसएक्सका पहिलो कर्मचारीमध्ये एक तथा हाल इम्पल्स स्पेसका संस्थापक टम मुलरले कम्पनीको यात्रालाई ‘अविश्वसनीय’ भन्दै सुरुआती दिनहरू सम्झिएका छन्। उनका अनुसार सन् २००८ मा पहिलो सफल कक्षीय उडानअघि कम्पनीले रकेट इन्जिन विस्फोट र प्रक्षेपण असफलताजस्ता गम्भीर चुनौतीहरू सामना गरेको थियो।
“हाम्रो यात्रा साँच्चिकै अद्भुत रह्यो,” मुलरले बताएका छन्। उनले सन् २०२० मा कम्पनी छाडे पनि स्पेसएक्समा उनको उल्लेखनीय शेयर स्वामित्व अझै कायम छ।
मस्ककै हातमा रहनेछ कम्पनीको नियन्त्रण
सार्वजनिक कम्पनी बनेपछि स्पेसएक्समाथि नियामकीय निगरानी बढ्ने भए पनि कम्पनीमाथि इलन मस्कको नियन्त्रण भने लगभग यथावत् रहनेछ।
कम्पनीको बहु-वर्गीय शेयर संरचनाअनुसार मस्कसँग करिब ४० प्रतिशत इक्विटी स्वामित्व रहनेछ भने ८४ प्रतिशतभन्दा बढी मतदान अधिकार (भोटिङ पावर) उनको नियन्त्रणमा हुनेछ। यसले कम्पनीका रणनीतिक निर्णयहरूमा उनको प्रभाव कायम रहने देखिन्छ। यसको तुलना गर्दा Mark Zuckerberg सँग Meta Platforms मा करिब ६० प्रतिशत मतदान अधिकार मात्र रहेको बताइन्छ।
सर्वसाधारण लगानीकर्ताका लागि जोखिमको संकेत
विशेषज्ञहरूले भने मस्कमा अत्यधिक शक्ति केन्द्रित हुनु सर्वसाधारण लगानीकर्ताका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। हार्वर्ड ल स्कूलको एक विश्लेषणले कम्पनीका भित्री समूहले मस्कसँग सम्बन्धित अन्य कम्पनीहरूबीचका कारोबार, अधिग्रहण तथा व्यवस्थापकीय पारिश्रमिकसम्बन्धी निर्णयहरूमा अत्यधिक प्रभाव पार्न सक्ने उल्लेख गरेको छ।
स्पेसएक्सले यसअघि मस्कको एआई कम्पनी xAI लाई आफ्नो संरचनामा समावेश गरिसकेको छ। xAI ले सन् २०२५ मा सामाजिक सञ्जाल प्लेटफर्म X (पूर्व ट्विटर) खरिद गरेको थियो। मस्कले ट्विटर सन् २०२२ मा अधिग्रहण गरेका थिए।
अन्य प्रविधि कम्पनीका लागि पनि परीक्षण
प्रविधिमुखी नास्ड्याक बजारमा स्पेसएक्सको सूचीकरणलाई अन्य ठूला निजी प्रविधि कम्पनीहरूका लागि पनि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। विशेषगरी Anthropic र OpenAI जस्ता उच्च मूल्याङ्कन भएका कम्पनीहरूले पनि निकट भविष्यमा सार्वजनिक कम्पनी बन्ने तयारी गरिरहेका छन्।
विश्लेषकहरूका अनुसार स्पेसएक्सको आईपीओ सफल भएमा आगामी वर्षहरूमा विश्वका ठूला एआई तथा प्रविधि कम्पनीहरूको शेयर बजार प्रवेशको मार्ग अझ सहज बन्न सक्छ।
जनमत पार्टीको महाधिवेशन असोजमा
धनकुटामा बस दुर्घटना, ११ जना घाइते
कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह
धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
प्रतिक्रिया