बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, हताहती बढ्ने आशंका

काठमाडौं, जेठ २९ । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन्।

स्थानीयका अनुसार बस सडकबाट निकै तल खसेर टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ। दुर्घटनाको भीषणताका कारण बसमा सवार यात्रुहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।

दुर्घटनालगत्तै स्थानीयवासी उद्धारमा जुटेका थिए भने त्यसपछि नेपाल प्रहरी र अन्य सुरक्षा निकायका टोली घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्र बनाएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको छ।

स्थानीय बासिन्दाले बसको अवस्था अत्यन्त क्षतिग्रस्त रहेको र धेरै  यात्रुहरू च्यापिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। त्यसैले हताहती हुनेको संख्या अझै बढ्न सक्ने उनीहरूको भनाइ छ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन। प्रहरीले घटनास्थलमा खोजी, उद्धार तथा घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।

दुर्घटनासम्बन्धी विस्तृत विवरण सङ्कलन भइरहेको छ। मृतक र घाइतेको आधिकारिक विवरण भने आउन बाँकी रहेको छ।

दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या परिवर्तन हुन सक्ने देखिएको छ। यस घटनासम्बन्धी थप विवरण प्राप्त हुनासाथ समाचार अद्यावधिक गरिनेछ|