भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि स्थानीयले भने- सीमा पार गरेर किन आएको, यो बिहार हो ?

काठमाण्डु– नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेका छन् ।आज बिहान हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयहरुले लखेटेका हुन् ।

एसएसबीका ६ जना सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली भूमितर्फ आएपछि स्थानीयले कारण सोध्दै विरोध गरेपछि सुरक्षाकर्मी फर्किएका थिए ।

अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा स्थानीयहरूले सीमा पार गरेर किन आएको ? यो बिहार हो ? भन्दै प्रश्न समेत गरेका छन् । भिडियोमा एक स्थानीयले ‘गोली चलाउँछौ’ ? भनेर साेधेकाे समेत सुनिएको छ ।

केहि बेरको विवाद पछि सुरक्षाकर्मीहरु त्यहाँबाट फर्किएका थिए । स्थानीय प्रशासनले भारतको कल्भर्ट भत्किएको र नियमित गस्तीका क्रममा वैकल्पिक बाटोका रूपमा नेपाली भूमिसम्म आएको बताएको छ ।

सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटक–पटक विवाद रहँदै आएको छ । यसअघि जेठ १९ गते तटबन्ध निर्माणका क्रममा पनि विवाद चर्किएको थियो ।

यो विषय शुक्रबारको प्रतिनिधिसभा बैठकमा समेत पुगेको छ । आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद् हर्क साम्पाङले यस विषयमा बोलेका छन् । उनले भारतीय सेनाले नेपालीलाई धम्क्याउँदा नेपालका रक्षामन्त्री कहाँ छन् भन्ने प्रश्न गरे। ‘प्रधानमन्त्रीज्यू त यहाँ आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो,’ उनले भने, ‘हामी दुईचार वटा प्रश्न सोध्न चाहन्छौँ रक्षामन्त्रीलाई।’