इरान-अमेरिका सम्झौता अन्योलमा, मध्यपूर्वमा कूटनीतिक अनिश्चितता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग निकट भविष्यमा सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको योजना स्थगित गरिएको बताएका छन्।
तर तेहरानले भने कुनै पनि अन्तिम सहमतिमा नपुगेको स्पष्ट गर्दै वार्ता अझै जारी रहे पनि निष्कर्षमा नपुगेको जनाएको छ। दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहँदा मध्यपूर्वको कूटनीतिक वातावरण झन् अनिश्चित बनेको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार वार्ता केही विषयमा सहमतिनजिक पुगे पनि अमेरिकी पक्षले नयाँ माग थपेपछि प्रक्रिया अवरुद्ध भएको छ। उनले सम्झौतामा पुग्ने अवस्था अझै नबनेको र छलफल जारी रहेको बताए।
यता राष्ट्रपति ट्रम्पले भने सम्झौता “उच्च राजनीतिक तहमा स्वीकृत” भइसकेको दाबी गर्दै इरानमाथिको सम्भावित सैन्य आक्रमण र बमबारी रोकिएको घोषणा गरे। उनका अनुसार सम्झौतामा हस्ताक्षरको समय र स्थान चाँडै सार्वजनिक गरिनेछ। ट्रम्पको यो दाबीपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा तत्काल प्रतिक्रिया देखिएको छ, जसअनुसार सेयर बजारमा वृद्धि र तेलको मूल्यमा गिरावट आएको बताइएको छ।
ट्रम्पले इजरायलसहित क्षेत्रीय साझेदारहरूको सहमतिमा सम्झौताको ढाँचा तयार भइसकेको उल्लेख गर्दै इरानको आणविक कार्यक्रम सीमित गर्ने र मिसाइल पूर्वाधार निष्क्रिय गर्ने विषय मुख्य बुँदामा रहेको दाबी गरेको छ। उनले इरानी नेतृत्वले पनि सम्झौता स्वीकार गरेको जस्तो आफूले बुझ्ने टिप्पणीसमेत गरे।
तर तेहरानले यी सबै दाबी अस्वीकार गरेको छ। इरानी पक्षले वार्तामा अमेरिकी अडान बारम्बार परिवर्तन भइरहेकाले प्रक्रिया जटिल बनेको आरोप लगाउँदै सम्झौता टुंगोमा नपुगेको दोहोर्याएको छ। इरानी सञ्चारमाध्यमले ट्रम्पको “सम्झौता नजिक पुगेको” दाबीलाई पटक–पटक दोहोरिने राजनीतिक अभिव्यक्ति भन्दै शंका व्यक्त गरेका छन्।
यसैबीच, पाकिस्तान र कतारको मध्यस्थतामा ब्याक–च्यानल वार्ता जारी रहेको र इजिप्टले दुवै पक्षलाई कूटनीतिक अवसरको उपयोग गर्न आग्रह गरेको बताइएको छ। क्षेत्रीय स्तरमा कूटनीतिक प्रयास तीव्र भए पनि विश्वासको संकट कायमै रहेको विश्लेषण गरिएको छ।
फेब्रुअरी २८ मा भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि सुरु भएको भनिएको तनाव अप्रिलको युद्धविरामपछि केही मत्थर भए पनि स्थायी समाधान नदेखिएको अवस्थामा पछिल्लो कूटनीतिक पहल अघि बढेको हो। तर दुवै पक्षबीचको सार्वजनिक बयानबाजीले सम्झौताको वास्तविक अवस्थाबारे अन्योल बढाएको छ।
यसैबीच, इरानभित्र आर्थिक दबाब र युद्धको त्रासका कारण नागरिक असन्तुष्टि बढेको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। साथै इरानी सैन्य नेतृत्वले पुनः आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिँदै हर्मुज जलमार्गमा निगरानी कडा बनाएको र तेल तथा ग्यास ढुवानी सीमित गरिएको जनाएको छ। यसले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ।
ट्रम्पको आशावादी दाबी र तेहरानको अस्वीकारबीच मध्यपूर्वमा स्थायी शान्तिको सम्भावना अझै अन्योलमै रहेको देखिएको छ।
बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ
स्रोत नखुलेको रकमसहित पक्राउ
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
आइतबार चीन जाँदै परराष्ट्रमन्त्री खनाल
सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्…
एसएसबीले नेपालीलाई हप्कीदप्की गरे रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई
अर्थमन्त्रीले बजेटमा छेडखानी गर्नुभयो, छानविन होस् : गुरु बराल
प्रतिक्रिया