सी चिनफिङ उत्तर कोरिया भ्रमणमा जानुको उद्देश्य के ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको दुईदिने भ्रमण सम्पन्न गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसँगको सम्बन्धलाई अझ मजबुत बनाउने र द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धतासहित उनले भ्रमण गरेका हुन् ।

तर, औपचारिक स्वागत, मित्रतापूर्ण सन्देश र सार्वजनिक घोषणाभन्दा बाहिर यो भ्रमणको मुख्य उद्देश्य आणविक हतियारसम्पन्न छिमेकी उत्तर कोरियाको बढ्दो आत्मविश्वास तथा किमको आक्रामक रणनीतिमाथि प्रत्यक्ष रूपमा नजर राख्नु थियो ।

उत्तर कोरिया मामिलाका अनुभवी विश्लेषक तथा अमेरिकी विदेश मन्त्रालयका पूर्वअधिकारी बब कार्लिनले बीबीसीसँग भने, “चीनले यसअघि यति धेरै आत्मविश्वासले भरिएको उत्तर कोरियाको सामना गरेको थिएन । उत्तर कोरियाले लामो समय आफूलाई शक्तिशाली राष्ट्रहरूबाट दबाबमा परेको महसुस गर्थ्यो, तर अहिले किमको दृष्टिकोण पूर्ण रूपमा बदलिएको छ ।”

उनका अनुसार, सन् २०२३ पछि किमले उत्तर कोरियाको रणनीतिक दिशा परिवर्तन गरेका छन् । पहिले प्योङयाङको लक्ष्य अमेरिकासँग सम्बन्ध सुधार गर्ने र कूटनीतिक सम्बन्ध सामान्य बनाउने थियो । तर, अहिले उसको रणनीति अमेरिकासँग प्रत्यक्ष टकरावका निम्ति तयारी गर्ने दिशामा केन्द्रित भएको देखिन्छ ।

कार्लिनका अनुसार, यही विषय चीनका निम्ति सबैभन्दा ठूलो चिन्ताको कारण बनेको छ । उत्तर कोरिया अमेरिकासँग कुनै ठूलो सैन्य द्वन्द्वमा फसे त्यसको असर चीनमाथि पनि पर्न सक्छ । त्यसैले बेइजिङ किमका गतिविधिलाई नजिकबाट नियाल्न र आवश्यक परे उनलाई संयम अपनाउन प्रेरित गर्न चाहन्छ ।

सी सत्तामा आएपछि चीन र उत्तर कोरियाबीचको सम्बन्धमा उतारचढाव देखिएको छ । किम सन् २०११ मा सत्तामा आएपछि चीनसँग नजिक मानिएका उनका काका जाङ सोङ–थाएकलाई २०१३ मा मृत्युदण्ड दिइएको थियो । त्यसपछि चीनले उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई समर्थन गरेको थियो ।

विश्लेषक कार्लिनका अनुसार, सी र किमबीच व्यक्तिगत रूपमा अझै केही असहजता रहन सक्छ । तर, भौगोलिक तथा रणनीतिक कारणले उनीहरू सहकार्य गर्न बाध्य छन् ।

हालै किमले चीन–उत्तर कोरिया सम्बन्धलाई चट्टानजस्तै बलियो बताएका छन् । सीले दुवै देशलाई आफ्नो सार्वभौमिकता, सुरक्षा र विकासका हितको रक्षा गर्न आह्वान गरेका छन् ।

दुवै नेताबीच व्यापार, लगानी, पर्यटन तथा शैक्षिक आदानप्रदानका विषयमा छलफल भएको जनाइएको छ ।

तर, विश्लेषकको ध्यान विशेष गरी सम्भावित सैन्य सहकार्यतर्फ केन्द्रित छ । आउँदो महिना चीन–उत्तर कोरिया रक्षा सम्झौताको ६५औँ वार्षिकोत्सवका अवसरमा हुने सम्भावित घोषणाले दुई देशबीचको सैन्य सम्बन्धको वास्तविक दिशा स्पष्ट पार्न सक्ने विश्लेषण गरिएको छ ।

सीको भ्रमणलाई उत्तर कोरियामा बढ्दो रुसी प्रभावलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा पनि हेरिएको छ । युक्रेन युद्धपछि मस्को र प्योङयाङबीचको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ ।

हतियार र हजारौँ उत्तर कोरियाली सैनिक सहयोगको बदलामा रुसले प्योङयाङलाई आर्थिक तथा रणनीतिक सहयोग प्रदान गरेको बताइन्छ । यसले किमको आत्मविश्वास बढाएको र उनले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई थप तीव्र बनाएको विश्लेषण छ ।

चीन भने रुस र उत्तर कोरियाले आफ्नो रणनीतिक साझेदारीमा बेइजिङलाई किनारामा पारून् भन्ने चाहँदैन । त्यसैले चीन क्षेत्रीय शक्ति सन्तुलनमा आफ्नो प्रभाव कायम राख्न सक्रिय भएको विश्लेषकको भनाइ छ ।

सीको भ्रमणअघि मात्र किमले नयाँ आणविक उत्पादन केन्द्र सार्वजनिक गरेका थिए । र, युरेनियम सम्वद्र्धन केन्द्रको निरीक्षण गरेका थिए । साथै, उनकी बहिनी किम यो जोङले उत्तर कोरियाको आणविक शक्तिसम्पन्न राष्ट्रको दर्जा अपरिवर्तनीय रहेको घोषणा गरेकी थिइन् ।

कार्लिनका अनुसार, किमले ठूलो आणविक भण्डार निर्माण गरिरहेका छन् । दक्षिण कोरिया तथा जापानसम्म प्रहार गर्न सक्ने क्षमतायुक्त मिसाइल प्रणाली उनीसँग उपलब्ध छ । यसले उत्तर कोरियाको आत्मविश्वासलाई थप बढाएको छ ।

सीको उत्तर कोरिया भ्रमण अमेरिकासँगको बदलिँदो सम्बन्धको सन्दर्भमा पनि महत्त्वपूर्ण मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक ऐतिहासिक भेटवार्ता गरेका थिए । तर, सन् २०१९ को असफल वार्तापछि सम्बन्ध फेरि चिसिएको थियो ।

त्यसयता उत्तर कोरियाले धेरै अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ । र, किमले आणविक निःशस्त्रीकरणका विषयमा वार्ता गर्न इच्छुक नरहेको संकेत दिएका छन् ।

कार्लिनका अनुसार, अमेरिका अब यस्तो अवस्थामा पुगेको छ, प्योङयाङलाई आफ्नो आणविक कार्यक्रम त्याग्न मनाउन सक्ने प्रभावकारी प्रस्ताव ऊसँग उपलब्ध छैन । ट्रम्प र किमबीच सात वर्षअघि भएको असफल वार्तासँगै त्यो अवसर गुमिसकेको उनको भनाइ छ ।

यो परिस्थितिमा सीको भ्रमणलाई केवल मित्रताको प्रदर्शन मात्र नभई किमको बढ्दो आत्मविश्वास, रुससँगको निकटता र अमेरिकासित सम्भावित टकरावको रणनीतिबीच चीनले आफ्नो प्रभाव कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।