‘विद्युत् व्यापारमा निजी क्षेत्र प्रवेश गराउन विद्युत् प्राधिकरण सकारात्मक’

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्।

इप्पानको २६औँ साधारण सभा तथा ८औँ अधिवेशनमा शुभकामना मन्तव्य दिँदै श्रेष्ठले यस्तो बताएका हुन्।

‘उत्पादनमा निजी क्षेत्रले पुर्‍याएको योगदान एकदमै सराहनीय छ। प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माण प्रवेश गराउनुपर्नेमा म स्पष्ट छु। मन्त्रीज्यूलाई पनि निजी क्षेत्रलाई प्रवेश गराउनुपर्छ भन्दै आएको छु’, उनले भने।

१५ हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने पनि उनले बताए।

ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको गुनासो गर्दै वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर उनीहरूको हौसला बढाउनुपर्ने श्रेष्ठले बताए।