मूल्यवृद्धि तीन वर्षयताकै उच्च तहमा पुग्दा ट्रम्पको टिप्पणी– ‘मलाई मुद्रास्फीति मन पर्छ’
वाशिङ्टन । अमेरिकामा उपभोक्ता मूल्यवृद्धि तीन वर्षयताकै उच्च तहमा पुगेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ले ‘मलाई मुद्रास्फीति मन पर्छ’ भन्ने अभिव्यक्ति दिएपछि नयाँ राजनीतिक बहस सुरु भएको छ।
अमेरिकी श्रम तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) वार्षिक आधारमा ४.२ प्रतिशत पुगेको छ। अप्रिलमा यो दर ३.८ प्रतिशत थियो। ऊर्जा लागत बढ्दै जाँदा मूल्यवृद्धि थप चर्किएको विश्लेषण गरिएको छ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पछिल्लो मूल्यवृद्धि सम्बन्धी तथ्याङ्कप्रति प्रतिक्रिया जनाउने क्रममा ‘मलाई यो मुद्रास्फीति मन पर्छ’ भनेका थिए। उनले प्रस्तुत तथ्याङ्क अपेक्षाभन्दा राम्रो रहेको दाबी गर्दै मूल्यवृद्धि अस्थायी भएको र इरानसँग जोडिएको तनाव कम भएसँगै मूल्यहरू घट्ने बताएका छन्।
ट्रम्पको उक्त अभिव्यक्ति सार्वजनिक हुनासाथ विपक्षी डेमोक्र्याट नेताहरूले कडा आलोचना गरेका छन्। सिनेटमा डेमोक्र्याटिक नेता चक शुमर ले सामाजिक सञ्जालमार्फत सर्वसाधारणप्रति राष्ट्रपति असंवेदनशील देखिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाका डेमोक्र्याट नेता हकीम जेफ्रिज ले पनि ट्रम्पको अभिव्यक्तिमाथि व्यंग्य गरेका छन्।
ट्रम्पले पछिल्लो मूल्यवृद्धिको मुख्य कारण इरानसँग सम्बन्धित भू–राजनीतिक तनाव रहेको दाबी गरेका छन्। उनले हर्मुज जलडमरूमध्य क्षेत्रमा गरिएको विशेष सैन्य कारबाहीका कारण तेल आपूर्ति सहज बनाउन मद्दत पुगेको र कच्चा तेलको मूल्य घट्न थालेको बताएका छन्। यद्यपि उनको दाबीलाई पुष्टि गर्ने स्वतन्त्र तथ्याङ्क सार्वजनिक भएको छैन।
इरानसँगको तनावका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेको छ। अमेरिकाले इरानमाथि हवाई आक्रमण जारी राखेका बेला कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। बुधबार अमेरिकी कच्चा तेलको मूल्य करिब ४ प्रतिशत बढेर प्रति ब्यारेल ९२ डलर नजिक पुगेको थियो।
पछिल्लो तथ्याङ्कअनुसार पेट्रोल, ग्यास तथा विद्युत्सम्बन्धी खर्चमा उल्लेख्य वृद्धि भएको छ। ऊर्जा क्षेत्रको मूल्यवृद्धिले समग्र महँगीलाई माथि धकेलेको विश्लेषण गरिएको छ। यद्यपि नयाँ सवारीसाधन, केही औषधि र सवारी बिमाको मूल्यमा भने केही कमी आएको ह्वाइट हाउसले जनाएको छ।
महँगी बढेसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ प्रणाली माथि ब्याजदर बढाउने दबाब पनि बढेको छ। मूल्यवृद्धि केन्द्रीय बैंकको २ प्रतिशत लक्ष्यभन्दा दोब्बरभन्दा बढी रहेकाले आगामी मौद्रिक नीतिमा कडाइ हुन सक्ने अनुमान गरिएको छ।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अर्थतन्त्र र महँगी अमेरिकी मतदाताको प्रमुख चासोको विषय बनेको छ। सन् २०२४ को चुनावी अभियानमा महँगी नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका ट्रम्पका लागि पछिल्लो मूल्यवृद्धि र त्यसबारेको अभिव्यक्ति राजनीतिक रूपमा चुनौतीपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।
पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते
‘मृत्यु भइसकेकाको पनि सम्पत्ति छानबिन हुन्छ’ : आयोग अध्यक्षको चेतावनी
रास्वपाकी शरिन कोसी सभापतीमा हार्ने निश्चित, गरिन् राजनीतिक संन्यासको घोषणा
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाउ
प्रतिक्रिया