‘मृत्यु भइसकेकाको पनि सम्पत्ति छानबिन हुन्छ’ : आयोग अध्यक्षको चेतावनी

काठमाडौं । सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले मृत्यु भइसकेका व्यक्तिमाथि समेत उजुरी परेमा छानबिन र कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन्।

 अन्तर्वार्तामा भण्डारीले मृत व्यक्तिले सम्पत्ति विवरण बुझाउन नपर्ने भए पनि उनीहरूको नाममा आर्जित सम्पत्ति, गैरकानुनी कमाइ वा अकुत सम्पत्तिसम्बन्धी उजुरी आएमा आयोगले अनुसन्धान गर्ने स्पष्ट पारे।

“व्यक्तिको निधनसँगै अपराध पनि समाप्त हुन्छ भन्ने कानुनी सिद्धान्त छ। तर मृत्यु भइसकेका व्यक्तिका सम्बन्धमा उजुरी आएमा छानबिन र आवश्यक कारबाहीको प्रक्रिया अघि बढ्छ,” भण्डारीले भने।

आयोगका अनुसार हालसम्म करिब ३ हजार ५०० सम्पत्ति विवरण फारम दर्ता भइसकेका छन् भने ६० भन्दा बढी उजुरी प्राप्त भएका छन्। आयोगमा अकुत सम्पत्ति, अरूको नाममा सम्पत्ति राखेको, अस्वाभाविक रूपमा सम्पत्ति बढाएको लगायतका उजुरी परिरहेका छन्।

भण्डारीले वैध आम्दानीबाट जोडिएको सम्पत्ति देखाउन कसैले डराउन नपर्ने स्पष्ट पारे। कर्मचारीको तलब, भत्ता, सञ्चयकोष, बीमा, पैतृक सम्पत्ति, खेतीपाती वा वैधानिक व्यवसायबाट आर्जित सम्पत्ति कानुनी रूपमा वैध हुने उनको भनाइ छ।

“गलत ढंगले कमाएको धन भएकाहरू मात्र डराउनुपर्ने हो। वैध स्रोतबाट कमाएको सम्पत्ति खुलाउन हिच्किचाउनु पर्दैन,” उनले भने।

२०४८ सालपछि सार्वजनिक पद धारण गरेका बहालवाला तथा पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उच्च सरकारी अधिकारी, न्यायाधीश, बैंक तथा सार्वजनिक संस्थानका उच्च पदाधिकारीलगायतलाई सम्पत्ति विवरण बुझाउन आयोगले निर्देशन दिएको छ।

आयोगले सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद असार मसान्तसम्म थप गरिसकेको छ र त्यसपछि पुनः म्याद नथपिने स्पष्ट पारेको छ।