अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै दुर्घटनाग्रस्त

काठमाडौँ । अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै दुर्घटनाग्रस्त भएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार मंगलबार हर्मुज नजिकै अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसेको हो ।

घटनाबारे जानकारी पाएका दुई व्यक्तिलाई उद्धृत गर्दै टाइम्सले हेलिकप्टरमा रहेका दुई चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा परेका पाइलटहरू सकुशल रहेको बताएका छन् ।

न्यूयोर्कबाट वासिङ्टन डीसी फर्कनुअघि जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै ट्रम्पले घटनामा कोही पनि घाइते नभएको जानकारी दिएका हुन् ।

उनका अनुसार सरकारले यसबारे मंगलबार प्रतिवेदन सार्वजनिक गर्नेछ ।

उक्त अपाचे हेलिकप्टर इरानी आ'क्र'मणका कारण खसेको हो, प्राविधिक गडबडी भएको हो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने अझै खुलेको छैन ।

घटनाको वास्तविक कारणबारे अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।