नेपाल भित्र्याइएका ६४९ वटा बीवाईडी विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास प्रक्रियामा कुनै अनियमितता नभेटिएको सरकारी छानबिन समितिले निष्कर्ष

मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याइएका ६४९ वटा बीवाईडी विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास प्रक्रियामा कुनै अनियमितता नभेटिएको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा भन्सार विभागका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा गठित समितिले १२ र १३ जेठमा जाँचपास भएका गाडीहरूको अध्ययनपछि ‘गाडी यार्डमा नपुग्दै जाँचपास गरिएको’ भन्ने आरोप असत्य रहेको जनाएको हो। समितिमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहभागी थिए।

अर्थ मन्त्रालयका अनुसार बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले जेठ ८ देखि १३ गतेसम्म ती गाडी आयात गरेको थियो र सबै सवारी बैंकमार्फत खोलिएको प्रतीतपत्र (एलसी) तथा यातायात व्यवस्था विभागको पूर्वस्वीकृतिअनुसार भित्रिएका हुन्। मन्त्रालयले आर्थिक विधेयक २०८३ मा १६ पृष्ठ गायब पारिएको तथा बजेटअघि करसम्बन्धी सूचना चुहाइएको आरोपलाई पनि भ्रामक भनेको छ। गत वर्ष जेठ १४ सम्म ४,३१७ वटा ईभी आयात भएकोमा यस वर्ष सोही अवधिमा २,७६४ वटा मात्र गाडी भित्रिएको तथ्याङ्क सार्वजनिक गर्दै मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि नियोजित रूपमा दुष्प्रचार र मानमर्दनको प्रयास भएको दाबी गरेको छ।