राष्ट्रिय मुक्ति पार्टीले औँल्यायो चुनावमा हार्नुको पाँच कारण

काठमाडौँ  । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले हालै सम्पन्न निर्वाचनको परिणामलाई आत्मसमीक्षाको महत्त्वपूर्ण अवसरको रूपमा ग्रहण गरेको छ । असार २२ गतेदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनमा पार्टी पराजित भए पनि पार्टीले उठाएका वैचारिक मुद्दाहरू राष्ट्रिय बहसको विषय बन्न सफल भएको निष्कर्ष निकालेको छ । 

पार्टीले उठाएको बहसकै केही विन्दुलाई जनभाषामा प्रस्तुत गरेर प्रधानमन्त्री बालेन शाहले जनकपुरमा बोलेको र त्यसबाट अत्यधिक राजनीतिक लाभ उठाएको भन्दै पार्टीले यसलाई आफ्नो वैचारिक विजयको रूपमा व्याख्या गरेको छ । बैठकले निर्वाचनमा व्यहोर्नु परेको पराजयका पछाडि मुख्य पाँचवटा कारणहरू औँल्याएको छ ।

 पहिलो कारणका रूपमा मतदाताले तत्कालै परिवर्तनको सम्भावना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देख्नुलाई मानिएको छ । दोस्रो, वैचारिक विस्तारको तुलनामा पार्टीको संगठनात्मक संरचना कमजोर रहनुका साथै आफ्नो मौलिक पहिचानलाई पार्टीले जोगाउन नसकेको ठहर गरेको छ । संघीय मोर्चामा सामेल हुँदा जनतामा आफूहरूलाई पनि पुराना भ्रष्ट र ठग पार्टी वा नेता जस्तै हुन् कि भन्ने बुझाइ पर्न गएको र संघीय मोर्चाभित्रै समेत चुनावी मोर्चाबन्दी हुन नसक्दा जनताको नजरमा नकारात्मक सन्देश गएको बैठकले समीक्षा गरेको छ ।

तेस्रो कारणमा, पार्टीले उठाएका मुद्दाहरू सही भए पनि स्वाभिमान, पहिचान, सुशासन र परिवर्तनको मत ठूलो मात्रामा एउटै केन्द्रमा ध्रुवीकृत हुन पुगेको विश्लेषण गरेको छ । चौथो, पार्टीले अघि सारेको वैचारिक भाषा र जनताको दैनिक बोलीचालीको भाषा बिच पर्याप्त पुल निर्माण हुन नसक्नुलाई कमजोरीका रूपमा हेरिएको छ । पाँचौँ कारणका रूपमा, वैचारिक निर्माणमा धेरै समय लगाइए तापनि समय अभावका कारण जनसंगठन निर्माणमा पर्याप्त ध्यान दिन नसकिएको र डिजिटल मिडियाको प्रयोगमा समेत पार्टी चुकेको बैठकले स्वीकार गरेको छ । 

पार्टीले आफूहरू काठमाडौँ केन्द्रित बढी भएको तर मधेश क्षेत्रमा पुग्न नसकेको निष्कर्ष निकालेको छ । विशेष गरी, मधेशी प्रधानमन्त्री हुनुपर्छ भन्ने भाष्य विगत लामो समयदेखि राष्ट्रिय मुक्ति पार्टीले नै मधेशमा स्थापित गरेको भए तापनि परिणाम आउने परिस्थिति निर्माण हुने देखिएपछि जनताले विगतकै अपिललाई सम्झेर रास्वपालाई रोजेको पार्टीले दावी गरेको छ । अन्य क्षेत्रमा मत पोखिनु भन्दा रास्वपामा ध्रुवीकृत हुनलाई पार्टीले आफ्नो वैचारिक एजेन्डाकै जितका रूपमा लिएको छ ।

कार्यकारिणी समितिले यस परिणामलाई पराजयका रूपमा मात्र बुझ्नु गल्ती हुने भन्दै यसलाई थोरै भए पनि वैचारिक विजयकै रूपमा बुझ्नुपर्ने प्रष्ट पारेको छ ।