बालेनको निर्वाचन क्षेत्रमा हिलाम्मे सडकमा धान रोपेर विरोध
काठमाडौँ । वर्षायाम शुरू भएसँगै झापाको दमक९ र १० को सीमावर्ती सडक फेरि हिलाम्मे बनेको छ । सडकभरि पानी जमेको छ, खाल्डाखुल्डीले भरिएको बाटोमा हिँड्नै सकस छ ।
यही पीडालाई आवाज दिन स्थानीयले यसपटक फरक शैली अपनाए । उनीहरू सडकमै धानको बेर्ना बोकेर पुगे र सडकलाई नै खेत बनाउँदै धान रोपे ।
प्रधानमन्त्री वालेन्द्र साह बालेनको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपासको यो सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ ।
पटक-पटक आग्रह, निवेदन र दबाब दिए पनि कुनै निकायले चासो नदिएपछि सांकेतिक रूपमा सडकमै धान रोपेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार वर्षा लाग्नेबित्तिकै सडक हिलाम्मे बन्छ भने हिउँदमा धुलो उड्छ । दैनिक आवतजावत मात्र होइन, बिरामी अस्पताल लैजान, विद्यार्थी विद्यालय पुग्न र किसानलाई उत्पादन बजारसम्म लैजानसमेत ठूलो समस्या हुने गरेको छ ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपाने भन्छन,‘चुनावका बेला नेताहरू घरदैलोमा आउँछन । विकासका ठूलाठूला सपना देखाउँछन् । तर निर्वाचन सकिएपछि जनताको समस्या बिर्सिन्छन् । अहिले यो सडक हो कि खेत छुट्याउनै गाह्रो भएको छ, त्यसैले हामीले सडकमै धान रोपेर हाम्रो पीडा देखाएका हौं ।’
उनका अनुसार स्थानीयले वडा कार्यालयदेखि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसम्म पटक-पटक सडक निर्माणको माग राखे पनि कुनै ठोस काम हुन सकेको छैन ।
‘जनताले कर तिर्छन्, भोट दिन्छन्, तर आधारभूत सुविधा पाउँदैनन्। विकासका भाषण धेरै सुनियो, व्यवहारमा हिलो र धुलो मात्रै पाइयो,’ उनी भन्छन् ।
किसान सुरेश धिमाल पनि सडकको समस्या नयाँ नभएको बताउँछन् । उनका अनुसार वर्षामा मोटरसाइकलसमेत चलाउन कठिन हुने अवस्था छ ।
‘बालबालिका विद्यालय जाँदा हिलोमा लड्छन्, वृद्धवृद्धालाई हिँड्नै समस्या हुन्छ । चुनावअघि सबैले सडक बनाइदिन्छौं भन्छन्, चुनावपछि फर्केर हेर्ने कोही हुँदैन,’ उनले गुनासो गरे ।
उनले थपे, ‘हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, बन्नुपर्छ भन्ने मात्रै हो। तर जिम्मेवारी एकले अर्कामाथि थोपर्ने प्रवृत्तिले समस्या झन् लम्बिएको छ ।’
स्थानीय किसान पदम भण्डारीका अनुसार सडकको दुर्दशाले गाउँको दैनिकी नै प्रभावित बनेको छ । ‘वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ। बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन, विद्यार्थी हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। आज धान रोप्नु रहर होइन, बाध्यता हो,’उनले भने ।
त्यस्तै अर्का स्थानिय केदार खतिवडाले जनताको धैर्यको परीक्षा धेरै भइसकेको टिप्पणी गरे । ‘कर तिर्ने बेला हामी नागरिक हौँ, सुविधा दिने बेला कसैले सम्झिँदैन। सडक यति बिग्रिएको छ कि खेत र बाटो छुट्याउनै गाह्रो छ । त्यसैले सडकमै धान रोपेर सम्बन्धित निकायलाई वास्तविकता देखाउन खोजेका हौँ,’ उनले बताए ।
कार्यक्रममा सहभागी भेषराज थापाले यो आन्दोलन कुनै राजनीतिक उद्देश्यले नभई आधारभूत पूर्वाधारको मागका लागि भएको स्पष्ट पारे ।
‘हामीलाई हिँड्न मिल्ने सडक चाहिएको हो । विकासका धेरै भाषण सुन्यौँ तर परिणाम देखेनौँ। आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रतिको गम्भीर प्रश्न पनि हो,’ उनले भने ।
स्थानीयले सडक स्तरोन्नति र कालोपत्रेको काम तत्काल शुरू नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले सडक अवरुद्धदेखि नगरपालिका घेराउसम्मका कार्यक्रम गर्न बाध्य हुने बताएका छन् ।
गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य हुँदैन
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी
समूह 'एफ'मा सधैँको दाबेदार नेदरल्यान्ड्स, झड्का दिन माहिर अरू टोली
प्रतिनिधिसभा बैठक सूचना टाँसेर सारियो
नेपाल घुम्ने पर्यटकको दोब्बर रकम खर्चिन्छन् विदेश जाने नेपाली
बालेन सरकारका मन्त्री : दीपकमाथि डन्डा, सुधनलाई पुरस्कार, केही त्रासमा !
पैँतिस करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग
प्रतिक्रिया