देउवा र कोइराला समूहको संयुक्त भेला, कोशीबाट सहकार्यको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको छ ।

संस्थापन इतर समूहले विराटनगरमा आयोजना हुन लागेको कोशी प्रदेशस्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको हो ।


इतर समूहले ३१ जेठमा आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने भएको छ ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताए ।


‘शेरबहादुर दाइको पुरानो टिम, शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो,’ उनले अनलाइनखबरसँग भने । यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा नेता कोइरालाको समूह उपस्थित भएको थिएन् ।

महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए । ‘कोशीबाट सुरू गर्ने भनेर सुरू गर्न लागेका हौं,’ उनले भने ।

महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेका भेलामा नेताहरू कृष्णप्रसाद सिटौला विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, राजीव कोइराला प्रमुख वक्ता रहेका छन् ।

सामाजिक सञ्जालमा प्रचार–प्रसारका लागि तयार गरिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ‘ऐतिहासिक बृहत भेला’ भनिएको छ ।

देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ ।