पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । तालिबानका अनुसार उक्त आक्रमणपछि दुई देशबीचको तनाव थप चर्किएको छ ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूमा बमबारी गरेको बताएका हुन् ।
उनका अनुसार आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ भने १४ जना महिला घाइते भएका छन् । तालिबानले घटनापछिका तस्बिरसमेत सार्वजनिक गर्दै यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन र नागरिकमाथिको आक्रमण भएको दाबी गरेको छ ।
अफगान अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षयता अफगान भूमिमा भएका पाकिस्तानी सैन्य कारबाहीका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । सीमावर्ती क्षेत्रमा लगातार तनाव बढ्दै जाँदा दुई देशबीचको सम्बन्ध झन् खराब बन्दै गएको बताइएको छ ।
मार्च महिनामा भएको एक ठूलो आक्रमणमा पाकिस्तानी सेनाले काबुलस्थित पुनर्वास केन्द्रलाई निशाना बनाएको तालिबानको दाबी छ । तालिबानका अनुसार उक्त घटनामा कम्तीमा २६९ जनाको मृत्यु भएको थियो । त्यसयता सीमावर्ती क्षेत्रमा पटक–पटक सैन्य कारबाही भइरहेका छन् ।
अक्टोबर २०२५ मा इस्लामाबादले काबुलसहित अफगानिस्तानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको लामो समयदेखिको तनाव खुला सीमापार द्वन्द्वतर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । निरन्तर आक्रमण र झडपका कारण दशौँ हजार अफगान नागरिक विस्थापित भएका छन् भने धेरै परिवार घरबार छोड्न बाध्य भएका छन् ।
तालिबानले पाकिस्तानले आफ्ना आन्तरिक सुरक्षा चुनौतीलाई आधार बनाएर अफगान क्षेत्रमा बारम्बार सैन्य हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । पाकिस्तानले भने तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) जस्ता समूहलाई अफगान भूमिबाट सहयोग मिलिरहेको दाबी गर्दै आएको छ ।
इस्लामाबादले तालिबानमाथि ती समूहलाई आश्रय दिएको आरोप दोहोर्‍याउँदै आएको भए पनि तालिबानले त्यसलाई अस्वीकार गर्दै आएको छ । तालिबानको भनाइमा पाकिस्तानले आफ्ना सुरक्षा कमजोरी ढाकछोप गर्न अप्रमाणित आरोप लगाउने गरेको छ ।
विश्लेषकहरूका अनुसार सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि सुरुमा अपेक्षा गरिएको निकट सम्बन्ध टिक्न सकेन । दशकौँसम्म तालिबानको प्रमुख समर्थकमध्ये एक मानिएको पाकिस्तान र अफगानिस्तानबीच अहिले अविश्वास बढ्दै गएको छ । पछिल्ला घटनाक्रमले दुई छिमेकी देशबीचको सम्बन्ध थप जटिल र तनावपूर्ण बन्दै गएको संकेत गरेका छन् ।
२३ दिनका लागि ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ
पदमा बढीमा तीन वर्ष मात्रै बस्ने: नवप्रवर्तन मन्त्री पुन
२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी
पाँच मत खसेपछि रोकियो रास्वपा वाग्मतीको चुनाव
संसद् अवरोध अन्त्य गर्न रवि लामिछानेको पहल असफल, सर्वदलीय बैठक निष्कर्षविहीन
सुनको मूल्यमा पहिरो, चाँदीको भाउ पनि उच्च गिरावट
प्रतिक्रिया