रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत गरेको छ । 

काठमाडौँ निवासी कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ ।

नवनियुक्त सदस्य कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन् । उनीसँग विश्वभरका युवा लोकतन्त्रवादीहरू आबद्ध सङ्गठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ । 

उनले युनिभर्सिटी अफ इस्ट लन्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

विगतमा उनले उनले पोल्याण्डमा सम्पन्न संयुक्त राष्ट्र संघीय 'वर्ल्ड अर्बन फोरम', अमेरिकाको वासिङ्टन डिसी र न्यूजील्याण्डमा भएका 'प्रजातान्त्रिक फोरम' लगायत फिनल्याण्ड, जर्मनी, मोरक्को,  बेलायत लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्दै नीतिगत संवाद र विश्वव्यापी सञ्जालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

सहरी योजनामा समेत विज्ञता राख्ने कार्कीले नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषमा सञ्चालक समिति सदस्यको रूपमा सेवा गरिसकेका छन् । 

विभागमा मनोनीत भएसँगै कार्कीले पार्टीको विधान, नीति र सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै नेतृत्वको मार्गदर्शनमा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ, प्रभावकारी र विस्तार गर्न आफ्नो तर्फबाट निरन्तर प्रयास रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।