मैत्रीपूर्ण खेलमा जर्मनी र पोर्चुगलको रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकपअघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र पोर्चुगलले रोमाञ्चक जित निकालेका छन् ।

शनिबार सम्पन्न खेलमा जर्मनीले अ‍ेरिकालाई २–१ ले हरायो । जर्मनीलाई जित दिलाउन काइ हाभार्ट्ज र लेरोय सानेले गोल गरे ।

अमेरिकाका एन्टोनी रोबिन्सनले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै हाभर्ट्जको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ३७औँ मिनेटमा रोबिन्सनले अमेरिकालाई बराबरीमा ल्याए ।

सानेले ५७औँ मिनेटमा गोल गर्दा जर्मनीले २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो ।

अर्को खेलमा पोर्चुगलले चिलीलाई २–१ पराजित गर्‍यो । पोर्चुगललाई जित दिलाउन गोन्सालो गुइडेस र ब्रुनो फर्नान्डेज गोल गरेका थिए । चिलीका लुकास सेपेडाले एक गोल फर्काएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५८औँ मिनेटमा गुइडेसको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ७५औँ मिनेटमा फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी टाइममा सेपेडाले गरेको गोल चिलीका लागि सान्त्वना बन्यो ।

पहिलो हाफको इन्जुरी टाइममा एकआपसमा झगडा गर्दा रेफ्रीले रातो कार्ड देखाएपछि पोर्चुगलका राफेल लियो र चिलीका इभान रोमनले मैदान छाड्नु परेको थियो ।

अन्य खेलमा ब्राजिलले इजिप्टलाई २–१, इंग्ल्यान्डले न्युजिल्यान्डलाई १–०, बेल्जियमले ट्युनिसियालाई ५–०, रोमानियाले वेल्सलाई २–१, र अर्जेन्टिनाले होन्डुरसलाई २–० ले पराजित गर्दा  क्यानडा र आयरल्यान्डले १–१ को बराबरी खेले ।