इजरायलप्रतिको धारणा विश्वभर थप नकारात्मक बन्दै

 प्यू रिसर्च सेन्टरको नयाँ सर्वेक्षणले विश्वभर इजरायलप्रतिको धारणा थप नकारात्मक बन्दै गएको देखाएको छ ।

३६ देशमा गरिएको सर्वेक्षणमा औसत ६७ प्रतिशत उत्तरदाताले इजरायलप्रति नकारात्मक धारणा व्यक्त गरेका छन् भने केवल २५ प्रतिशतले सकारात्मक राय दिएका छन् ।

प्यू रिसर्च सेन्टरले फेब्रुअरी ८ देखि मे १३ सम्म ३६ देशमा सर्वेक्षण सञ्चालन गरेको थियो । अधिकांश अन्तर्वार्ता अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेको अवधिमा लिइएको बताइएको छ ।

सर्वेक्षणअनुसार बंगलादेश, इन्डोनेसिया, मलेसिया, पाकिस्तान र टर्की जस्ता मुस्लिम बहुल देशहरूमा इजरायलप्रति सबैभन्दा बढी असन्तुष्टि देखिएको छ । त्यस्तै, वेस्ट बैंक र पूर्वी जेरुसेलमका बासिन्दामध्ये पनि ठूलो संख्याले इजरायलविरुद्ध नकारात्मक धारणा व्यक्त गरेका छन् ।

रिपोर्टमा युरोपका धेरै देशहरूमा पनि इजरायलको छवि कमजोर बन्दै गएको उल्लेख छ । इटाली, नेदरल्यान्ड्स र स्पेनमा करिब दुई तिहाइ वा त्योभन्दा बढी उत्तरदाताले इजरायलप्रति अत्यन्त नकारात्मक धारणा राखेको बताएका छन् ।

प्यूका अनुसार अघिल्लो सर्वेक्षणसँग तुलना गर्न सकिने २४ देशमध्ये १३ देशमा इजरायलप्रतिको नकारात्मक सोच अझ बढेको पाइएको छ ।

अर्जेन्टिनामा सन् २०२५ मा ४६ प्रतिशत मानिसको इजरायलप्रति नकारात्मक धारणा रहेकोमा अहिले यो संख्या बढेर ५५ प्रतिशत पुगेको छ । त्यस्तै, अस्ट्रेलिया, इटाली, नाइजेरिया, पोल्यान्ड र बेलायतमा पनि इजरायलप्रति अत्यन्त नकारात्मक धारणा राख्नेहरूको संख्या दोहोरो अंकले वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।