दुई पक्षबीच छुट्टाछुट्टै अधिवेशन भएपछि विवाद उग्र, रास्वपा जिल्ला कार्यालयमा तालाबन्दी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनको विषयलाई लिएर उत्पन्न आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएको भन्दै असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावनाविपरीत विवादित समितिलाई जबर्जस्ती आधिकारिकता दिन खोजेको असन्तुष्ट पक्षको आरोप छ ।
गणेशमान चारनाथ नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि विवादले उग्र रूप लिएको हो । नगर सभापति राकेश यादवले दुवै पक्षद्वारा गरिएका अधिवेशनहरू खारेज हुनुपर्ने अडान राखेका छन् । उनले दुवै अधिवेशन खारेज गरी नयाँ मिति तय गरेर निष्पक्ष रूपमा पुनः अधिवेशन गराउनुपर्ने माग अघि सारेका छन् ।
असन्तुष्ट पक्षका अनुसार पार्टीको केन्द्रीय निर्वाचन आयोगले २०८१ जेठ १९ गते अर्को सूचना नआएसम्मका लागि सो क्षेत्रको अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको ठाडो अवज्ञा गर्दै प्रतिक नेपाल पक्षले एकलौटी रूपमा अधिवेशन अगाडि बढाएको उनीहरूको दाबी छ ।
जिल्ला कार्यालयमा तालाबन्दीमा उत्रिएका कार्यकर्ताहरूले पार्टीभित्र गुट–उपगुट सिर्जना भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । नयाँ र वैकल्पिक राजनीतिको नारा दिएर आएको पार्टीभित्रै पुरानै प्रवृत्ति देखिनु दुःखद भएको भन्दै उनीहरूले केन्द्रीय नेतृत्वलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
कार्यकर्ताहरूले जिल्ला नेतृत्व र केन्द्रले यो विवादको उचित र न्यायसङ्गत समाधान नखोजेसम्म तालाबन्दी नखोलिने र आन्दोलनका कार्यक्रमहरूलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी समेत दिएका छन् । यस तालाबन्दीका कारण धनुषामा रास्वपाको दैनिक प्रशासनिक तथा सङ्गठन विस्तारका कार्यहरू प्रभावित भएका छन् ।
रास्वपा धनुषा चारनाथ नगरपालिकाको अधिवेशनमा विवाद
भारतको टाटाले चेरीको प्रिमियम ईभी प्लेटफर्मको लाइसेन्स लिन खोज्दै
‘आरोग्य पर्यटन प्रवर्द्धनका लागि स्पा व्यवसायीलाई मर्यादित बनाउनुपर्छ’
रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला
१५ जिल्लाका सिडिओसहित सहसचिवहरूको सरुवा, त्रिअबि अध्यागमनमा थपलिया
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा
प्रतिक्रिया