इरानी ड्रोन आक्रमणपछि कुवेत विमानस्थलमा क्षति, युद्धविराम संकटमा

इरान र अमेरिकाबीच जारी तनावका बीच फेरि आक्रमण–प्रतिआक्रमण भएको छ ।

यसले हालै लागू गरिएको नाजुक युद्धविरामलाई थप चुनौती दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुधबार इरानी ड्रोन आक्रमणका कारण कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुवेतका रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजिज अल–ओताइबीका अनुसार विमानस्थलको यात्रु टर्मिनललाई लक्षित गरी धेरै शत्रुतापूर्ण ड्रोनहरू प्रहार गरिएको थियो । घटनापछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो । पछि वैकल्पिक टर्मिनलबाट सीमित उडान सञ्चालन पुनः सुरु गरिएको छ ।

यसैबीच, इरानले युद्धविराम विस्तारका लागि मध्यस्थकर्तासँगको संवाद स्थगित गरेको बताइएको छ । क्षेत्रीय एक अधिकारीका अनुसार लेबनानमा युद्धविराम प्रभावकारी रूपमा लागू नभएसम्म तेहरान वार्तामा फर्किन इच्छुक छैन ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता अझै जारी रहेको बताएका छन् ।

पछिल्ला केही सातादेखि इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व अन्त्य गर्न वार्ता चलिरहेको भए पनि विभिन्न क्षेत्रमा भइरहेका लगातार आक्रमणहरूले शान्ति प्रयासलाई कमजोर बनाइरहेका छन् ।

इरानले अझै पनि हर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम राखेको छ । उता अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ । यसका कारण विश्व बजारमा तेल तथा प्राकृतिक ग्यासको मूल्य उच्च रहँदा युद्धको प्रभाव विश्वभर महसुस भइरहेको छ ।

कुवेतको विदेश मन्त्रालयले इरानी आक्रमणको कडा निन्दा गर्दै आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित रहेको जनाएको छ। मन्त्रालयले यस्तो आक्रमणलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत देखिएको छ र युद्धविराम दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने विषय अझै अनिश्चित बनेको छ ।