मिडफिल्डका बादशाह ब्रुनो
१९ जेठ, काठमाडौं । पोर्चुगलका ब्रुनो फर्नान्डेस खेललाई असाधारण गतिमा पढ्ने खेलाडी हुन् । मैदानमा रहेका अन्य खेलाडीभन्दा उनी सधैं केही सेकेन्ड अगाडि सोचिरहेको जस्तो देखिन्छन् ।
अथक मेहनत, उत्कृष्ट प्राविधिक क्षमता र नेतृत्वका कारण म्यानचेस्टर युनाइटेडका कप्तान तथा पोर्चुगलका प्लेमेकर फर्नान्डेस आज विश्व फुटबलका प्रभावशाली मिडफिल्डरमध्ये एक बनेका छन् ।
इङ्ग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट होस् वा पोर्चुगलको राष्ट्रिय टोलीबाट, उनले सधैं आफ्नो प्रभाव छोड्दै आएका छन् । फिफा विश्वकप २०२६ मा पनि पोर्चुगलले उनीबाट ठूलो अपेक्षा राखेको छ।
सुरुवाती चरणको कुरा गर्नुपर्दा ब्रुनोले आफ्नो फुटबल यात्रा बोआभिस्टाको युवा टोलीबाट सुरु गरेका थिए । त्यसपछि उनले इटालीका नोभारा, उडिनेजे र साम्पडोरियाबाट खेल्दै अनुभव बटुले ।तर उनको वास्तविक उदय स्पोर्टिङ सीपीबाट भयो । नानी क्लब छाडेपछि उनले टोलीको कप्तानी सम्हाले र लगातार दुई सिजन क्लबका शीर्ष गोलकर्ता बने । उनले २०१७–१८ र २०१८–१९ मा लगातार पोर्चुगलका उत्कृष्ट फुटबलरको अवार्ड पनि जिते ।
स्पोर्टिङका लागि उनले १३७ खेलमा ६३ गोल र ५० असिस्ट गरे, जुन कुनै मिडफिल्डरका लागि निकै प्रभावशाली आँकडा हो ।
जनवरी २०२० मा म्यानचेस्टर युनाइटेड पुगेका उनले त्यहाँ पनि आफ्नो छुट्टै पहिचान बनाए । उनले क्लबका लागि १०० भन्दा बढी गोल गरेका छन् भने १०० असिस्ट पनि पूरा गरिसकेका छन् । युनाइटेडबाट उनले २०२२–२३ को इएफएल कप र २०२३–२४ को एफए कप जितेका छन् ।

ब्रुनोले पोर्चुगलबाट सन् २०१८ को विश्वकप, २०२२ को विश्वकप तथा युरो २०२० र युरो २०२४ खेलेका छन् । यसबाहेक उनी २०१८–१९ र २०२४–२५ मा युइएफए नेसन्स लिग जित्ने पोर्चुगल टोलीका सदस्य पनि थिए ।
ब्रुनो असाधारण दृष्टि भएका खेलाडी हुन् । विपक्षी रक्षापंक्तिबीचबाट कठिन पास निकाल्ने क्षमता उनको विशेषता हो । उनी आक्रमणको अवसर सिर्जना गर्न माहिर छन् भने टाढाबाट गोल गर्न पनि उत्तिकै सक्षम छन् ।
तर उनको योगदान केवल तथ्यांकमा सीमित छैन । उनी मैदानमा उदाहरणीय नेतृत्व गर्छन् । टोलीका साथीहरूलाई सही स्थानमा रहन निर्देशन दिनु, खेलको तीव्रता बढाउन प्रेरित गर्नु र कठिन समयमा जिम्मेवारी लिनु उनको विशेषता हो ।
यसैले धेरै खेलाडीहरूले उनलाई भविष्यमा सफल प्रशिक्षक बन्न सक्ने व्यक्तिका रूपमा पनि हेर्ने गरेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्रुनोलाई युनाइटेडको हालसम्म उत्कृष्ट खेलाडीमध्ये एकको संज्ञा दिएका छन् ।
‘ब्रुनो भएको म्यानचेस्टर युनाइटेड र ब्रुनो नभएको म्यानचेस्टर युनाइटेड फरक टोली हो । उनी असिस्टका राजा हुन् । खेललाई उनी अरूभन्दा फरक तरिकाले देख्छन्। नम्बर ६ मा खेलाउँदा टोलीको धड्कन बन्छन्, नम्बर १० मा खेलाउँदा गोल संख्या बढ्छ । म्यानचेस्टर युनाइटेडको इतिहासका जुनसुकै महान् टोलीमा पनि उनी सहजै फिट हुन्थे’ उनले भनेका छन् ।
अर्का प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन्, ‘ब्रुनो बलमा हुँदा जे पनि हुन सक्छ । उनको प्रभाव अविश्वसनीय छ । उनले सिर्जना गर्ने अवसरहरू मैले देखेका उत्कृष्टमध्ये पर्छन् ।’
यस्तै म्याचेस्टर युनाइटेडका हालका प्रशिक्षक माइकल क्यारिकले पनि उत्कृष्ट खेलाडीको संज्ञा दिएका छन् । ‘म यहाँ आएदेखि ब्रुनो उत्कृष्ट छन् । उनीबारे भन्नका लागि मसँग राम्रो कुरा बाहेक केही छैन’ क्यारिकले भनेका छन् ।
जनवरी २०२० मा म्यानचेस्टर युनाइटेड पुगेयता ब्रुनो २०० भन्दा बढी गोलमा प्रत्यक्ष संलग्न भएका छन् । १ मार्च २०२६ सम्म उनले १०५ गोल र १०० असिस्ट गरेका छन् । गत संस्करणको प्रिमियर लिगमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बने ।
पोर्चुगलका लागि उनले ८५ खेलमा २८ गोल गरेका छन् । विश्वकप २०२६ छनोटको अन्तिम खेलमा उनले आर्मेनियाविरुद्ध ह्याट्रिक गरेका थिए । पोर्चुगलले उक्त खेल ९–१ ले जित्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

ब्रुनोको विश्वकप इतिहास
ब्रुनोले सन् २०१८ मा रुस विश्वकपमार्फत विश्वकपमा डेब्यु गरेका थिए । कतार विश्वकप २०२२ मा उनी पोर्चुगलका महत्वपूर्ण खेलाडी थिए । समूह चरणमा घानाविरुद्ध ३–२ को जितमा उनले दुई असिस्ट गरेका थिए ।
उरुग्वेविरुद्ध २–० को जितमा उनले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि स्विट्जरल्यान्डविरुद्ध अन्तिम १६ को खेलमा ६–१ को शानदार जित निकाल्दा उनले अर्को असिस्ट थपे ।
तर क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरियो । त्यही विश्वकपमा मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो ।
३१ वर्षका ब्रुनो फर्नान्डेस आफ्नो करियरको उत्कृष्ट लयमा विश्वकप २०२६ खेल्न तयार छन् । उनी पोर्चुगलको वर्तमान टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्, जहाँ उनको साथमा करियरको अन्तिम चरणमा रहेका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि छन् ।
यदि उनले प्रिमियर लिगमा देखाएको प्रभावशाली प्रदर्शन विश्वकपमा पनि दोहोर्याउन सके, ब्रुनो पोर्चुगलको खेलको मुख्य शक्ति बन्न सक्छन् । उनको नेतृत्व, सिर्जनात्मकता र निर्णायक क्षमताले पोर्चुगललाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा सफलता दिलाउने विश्वास गरिएको छ।
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
"अर्थमन्त्री वाग्लेमाथि तत्काल संसदीय छानबिन गर: संसद्मा प्रहार"
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गर्दै बस नरोकि हुइँकिएपछि तत्काल गर्यो…
फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, अन्तर्राष्ट्रिय विमानस्थल बन्द
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
जनमत पार्टीद्वारा माइतीघरमा विरोध प्रदर्शन, थप आन्दोलनको चेतावनी
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
प्रतिक्रिया