भारतका १५ राज्यमा प्रि–मनसुन अलर्ट, उत्तर प्रदेश र बिहारमा चट्याङ र आँधीबाट ४८ जनाको मृत्यु
छिमेकी मुलुक भारतका विभिन्न राज्यहरू भीषण गर्मीको चपेटामा परिरहेका बेला १५ भन्दा बढी राज्यमा प्रि- मनसुन वर्षाको अलर्ट जारी गरिएको छ । पछिल्लो २४ घण्टामा भारतको बिहार र उत्तर प्रदेश (यूपी) मा आएको हावाहुरी, वर्षा र चट्याङका कारण ठुलो मानवीय क्षति भएको छ । यी दुई राज्यमा मात्रै मौसमजन्य विपद्का कारण ४८ जनाको ज्यान गइसकेको छ ।
बिहारमा पछिल्लो २४ घण्टामा आँधीबेहरी, वर्षा र चट्याङबाट १७ जनाको मृत्यु भएको छ । खराब मौसम र भारी वर्षाका कारण प्रान्तीय राजधानी पटनाको हवाई उडान समेत नराम्ररी प्रभावित भएको छ ।
पटना विमानस्थलमा अवतरण गर्नुपर्ने ४ वटा उडानलाई अन्यत्र डाइभर्ट गरिएको छ भने १८ वटा उडानहरू ढिला हुँदा ५ सयभन्दा बढी यात्रु अलपत्र परेका छन् । मौसम विज्ञान विभागका अनुसार आज बिहारका २५ जिल्लामा वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधी-तूफान र वर्षाका कारण ३१ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको सहारनपुरमा भारी वर्षापछि पहाडी क्षेत्रबाट तीव्र बहाबसहित आएको पानीले सडकमा गुडिरहेका इनोवा कार र ट्र्याक्टरसहित १० वटा गाडीहरू बगाएको छ ।
मौसम विभागले उत्तर प्रदेशका सबै ७५ वटै जिल्लामा वर्षाको अलर्ट जारी राखेको छ । भारतका कयौँ सहरहरूमा यतिबेला तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मीको यो मौसममा साना बालबालिकाहरूलाई हीट स्ट्रोक र लूबाट जोगाउन खानपान र दिनचर्यामा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् ।
यसैबिच, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी ७ दिनभित्र मनसुन भारतको केरल राज्यमा प्रवेश गर्ने जानकारी दिएको छ । यद्यपि, विभागले यसवर्षको मनसुन समग्रमा सामान्यभन्दा कमजोर रहने अनुमान गरेको छ ।
आईएमडीका अनुसार जुनदेखि सेप्टेम्बर महिनासम्म देशका धेरैजसो भूभागमा औसतभन्दा कम पानी पर्ने सम्भावना छ । यस सिजनमा देशैभरि औसत ७८ सेन्टिमिटर मात्र वर्षा हुने अनुमान गरिएको छ, जबकि भारतमा सामान्य मनसुनी वर्षाको औसत ८७ सेन्टिमिटर मानिन्छ ।
बिहार र उत्तर प्रदेशमा भने सामान्य वर्षा हुन सक्ने भए पनि अन्य क्षेत्र विशेष गरी वर्षामा निर्भर रहने खेतीपाती हुने इलाकाहरूमा मनसुन कमजोर रहन सक्ने आशङ्का गरिएको छ ।
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
प्रतिक्रिया