इरानी विमानको ल्यान्डिङ र रिफ्युलिङमा कडा प्रतिबन्ध

काठमाडौं । अमेरिकाले इरानलाई आर्थिक रूपमा पूर्ण एक्लो पार्ने उद्देश्यसहित हालसम्मकै कडा कदम चालेको छ । अमेरिकी वित्तमन्त्री (ट्रेजरी सेक्रेटरी) स्कट बेसेन्टले सरकारी स्वामित्वका इरानी एयरलाइन्सलाई विश्वव्यापी रूपमा कानुन उल्लंघनकर्ता घोषणा गरिएको स्पष्ट पारेका छन् । 

नयाँ प्रतिबन्धअन्तर्गत अब इरानी विमानलाई विदेशी भूमिमा अवतरण (ल्यान्डिङ) गर्न अनुमति दिइने छैन । त्यसमा इन्धन भर्ने (रिफ्युलिङ) सुविधा पनि उपलब्ध गराइने छैन । इरानी उडानको हवाई टिकट बिक्रीमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ । अमेरिकाको उद्देश्य आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय घेराबन्दीमार्फत इरानलाई दबाबमा पार्नु हो ।

यो कडा निर्णयबीच अमेरिकाले सर्वसाधारण नागरिकलक्षित केही नरम नीति पनि अपनाएको छ । वित्तमन्त्री बेसेन्टले धार्मिक तथा मानवीय प्रयोजनका गतिविधिमा यो प्रतिबन्ध लागु नहुने बताएका छन् ।

मक्का र मदिनाको पवित्र यात्रा अर्थात् हजमा जाने इरानी तीर्थयात्रीलाई उडान सञ्चालन गर्न अनुमति दिइने उनले बताए ।

अत्यावश्यक औषधि तथा मानवीय सहायतासँग सम्बन्धित उडानलाई पनि प्रतिबन्धको दायराबाहिर राखिएको छ । व्यावसायिक तथा सरकारी उडानमा भने यो नियम अत्यन्त कडाइका साथ लागु हुनेछ ।

अमेरिकाले इरानलाई सहयोग गर्ने तेस्रो देशहरूलाई पनि खुला चेतावनी दिएको छ । वित्तमन्त्री बेसेन्टले इरानी विमानहरूलाई अवतरणका निम्ति स्थान उपलब्ध गराउने, इन्धन आपूर्ति वा टिकट बिक्रीमा सहयोग गर्नेमाथि पनि अमेरिकाले कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।