सभापति लामिछानेको भारत भ्रमणबारे के भन्छन् सरकारका प्रवक्ता ?

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमणको विषयलाई जोडेर हेर्नु आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उजले यस्तो धारणा राखेका हुन् । लामिछानेले जेठ १८ र १९ गते भारत भ्रमण गर्दै छन् । 

प्रधानमन्त्री भारत भ्रमणमा ननिस्किएको अवस्थामा रास्वपा सभापति लामिछानेको भ्रमणलाई 'विकल्प'का रूपमा हेरिएको हो भनेर पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता पोखरेलले भने, 'प्रधानमन्त्रीज्यूको भारत जाने समय जतिखेर आउँछ, त्यतिबेला उहाँ जानुहुन्छ । अहिले उहाँ भारत मात्र नभई कतै पनि जानुभएको छैन । अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता धेरै भएकाले काममा बढी फोकस हुनुपरेको छ ।'

सभापति लामिछानेको भ्रमणको प्रसंगमा मन्त्री पोखरेलले उनी आफ्नो हिसाबले भ्रमणमा निस्किएको र त्यसलाई सरकारको औपचारिक भ्रमणसँग जोड्नु गलत हुने बताए। 'सभापतिज्यू आफ्नो ढंगले जानुभएको हो । यसलाई प्रधानमन्त्रीज्यूको भ्रमणसँग जोडेर हेर्न त पाइयो, तर त्यसको कुनै सम्बन्ध छैन,' उनले भने ।