पोखरामा फिर्केखोलाको मिच्ने पक्की घर ढलाइयो, पूर्वमाओवादी नेताको पनि पर्‍यो

फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन सोमबार ३१ वटा संरचनाहरू हटाइएको छ। 

अभियानकै क्रममा पोखरा ४ को कोइराला विर्ता टोलमा फिर्केखोलामाथि नै बनाइएको माओवादी नेताको घर पनि भत्काइएको छ।

माओवादी नेता ज्ञानबहादुर कोइरालाले शक्तिको दुरुपयोग र कानुनको अन्देखा गर्दै खोला मिचेर २ वटा घर ठ्याएका थिए। ती घर भाडामा लगाइएको थियो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार सोमबार वडा नं ४ र ५ को क्षेत्रमा ६ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ  भने वडा नं १८ र २ को सीमाना क्षेत्रमा ६ वटा संरचनाहरू हटाइएको छ।

पहिलो दिन बाँकी रहेको पोखरा ८ मा रहेको राधाकृष्ण सामुदायिक भवन पूर्ण रूपमा हटाइएको तथा त्यहाँ रहेका ६ वटा पक्की र ९ वटा कच्ची संरचना हटाउँदा जम्माजम्मी ५१ वटा संरचनाहरू खोला घरबाट हटाइएको उनले बताए। 

खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन्।