एमाले पुनर्निर्माणका लागि ओली मात्र होइन, पुरै पुरानो नेतृत्वको अन्त्य आवश्यक

नेकपा एमाले आज आफ्नो इतिहासकै सबभन्दा कमजोर र संकटग्रस्त अवस्थामा छ । अध्यक्ष केपी शर्मा ओली आफ्नै प्यानलका उपाध्यक्षहरूको घेराबन्दीमा परेका छन् । सचिवालय बैठकमा सबै पदाधिकारीले उनको राजीनामा माग्दै छन् । चुनावी पराजय, जेनजी नरसंहारको अभियोगमा पक्राउ र पार्टीभित्रै बढेको असन्तुष्टिले ओलीलाई कमजोर बनाएको छ । 

तर, के ओली मात्रै सबै समस्याको जड हुन् ? केवल ओलीले राजीनामा दिए मात्रै एमालेले गति लिन्छ ? होइन । किनभने, एमालेको मूल समस्या ओलीको आचरण र शैलीमा त हुँदै हो, उनीसँगै मुठीभरका केही नेताहरु पनि एमाले पतनका कारण हुन् । हिजो ओलीका जस्तासुकै अलोकप्रिय कदममा काँध थाप्ने, उचाल्ने र त्यसकाबाट लाभ लिनेहरुको त्यो समूह नबाहिरिएसम्म एमालेले पुनःजीवन पाउने छैन । यसका लागि ओली मात्र होइन, एमालेका सबै केन्द्रीय पदाधिकारीले राजीनामा दिनुपर्छ ।

एमालेभित्र विगत लामो समयदेखि एउटै पुरानो पुस्ताको एकाधिकार छ । ओली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नामहरू दशकौँदेखि एमालेको शीर्ष नेतृत्वमा दोहोरिरहेका छन् । यीमध्ये अधिकांश धेरै पटक सांसद, मन्त्री र केन्द्रीय सदस्य भइसकेका छन् । 

उनीहरुले आफ्नो स्थान सुरक्षित हुँदासम्म नयाँ पुस्तालाई अवसर दिन कहिल्यै गम्भीर पहल गरेनन् । यसकारण अबको पुनर्निर्माणमा सबै केन्द्रीय पदाधिकारीले एकैपटक बाटो छाड्नुपर्छ । कसैलाई छाडेर कसैलाई राख्ने हो भने त्यो उही पुरानो खेलको निरन्तरता मात्र हुनेछ ।

अबको एमाले युवा, शिक्षित, इमानदार र जोखिम लिन सक्ने पुस्ताको हुनुपर्छ । नयाँ र युवाहरुको एमाले बनाउनुपर्छ । पार्टीभित्र हाल विद्यमान नेतृत्व संरचना सत्ता र पदप्रति निकृष्ट रुपमै आशक्त छ । नयाँ पुस्तासँग नयाँ विचार, नयाँ ऊर्जा र नयाँ दृष्टिकोण हुन्छ । पार्टीले आफ्नो विधानमा नै सीमित अवधिको नेतृत्व, निश्चित पटक मात्र निर्वाचित हुन पाउने व्यवस्था लागू गर्नुपर्छ । ४० वर्षमुनिका युवालाई केन्द्रीय समितिमा कम्तीमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । त्यसपछि मात्र एमालेले 'नयाँ एमाले' भन्ने अधिकार कमाउनेछ ।

हिजो ओलीको नाम लिएर ओलीजस्तै देखिने गरी हैकम जमाएकाहरु अहिले नयाँ आवरणमा देखापरेका छन् । र उनीहरु ओलीसँग राजीनामा माग्दै छन् । एमालेका युवा कार्यकर्ताले बुझ्नैपर्ने कटु सत्य हो यो । विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्तहरू हिजोसम्म ओलीकै आडमा बलियो भएका र राइँदाइँ गरेकाहरु हुन् । उनीहरूले ओलीको नाममा पार्टीको मुख्य धारमा बसेर पद पाए, शक्ति पाए, सुविधा पाए । ओलीकै काखमा बसेर उनीहरूले हैकम जमाए। तर आज ओली ओरालो लागेपछि अचानक परिवर्तनवादी बनेर आएका छन् । उनीहरू आफूलाई 'पुनर्गठनकारी' को अवतारमा देखाउन खोजेका छन् । तर यिनीहरुको क्षमता र योग्यता के हो भन्ने कुरा एमाले र मुलुकले देखिसकेको छ । उनीहरुले भोलि अर्को अवसर पाए के गर्नेछन् भन्ने प्रस्ट भइसकेको छ । 
 

उनीहरु एमाले खरानी बन्नुको सम्पूर्ण दोष ओलीमाथि थोपरेर आफूहरु पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । पार्टी पतनको दोष पूर्णतः ओलीको टाउकोमा हाल्दै आफू मात्र ठीक देखिने कोसिसमा छन् । तर यथार्थ के हो भने पार्टी जुन अवस्थामा छ त्यसको उत्तिकै जिम्मेवार यी पौडेल, गुरुङ, पन्त, विष्ट र बाँकी सबै हुन् । जसले पार्टीमा कित्ताकरण गरे, पार्टी फुटाए, प्रतिस्पर्धीलाई उठ्नै नसक्ने गरेर दबाए र लखेटे, चुनावी रणनीति बनाए, निर्णयमा हस्ताक्षर गरे, ओलीको मन्त्रीपरिषद्मा बसेर सत्ताको स्वाद मस्तसँग लिए र आज आफूहरू सफा देखिन ओलीमाथि मात्र दोष थुपार्दै छन् । 

यो भनेको ओली ओरालो लागेपछि आफ्नो राजनीति जोगाउने दाउ मात्र हो । यो कुनै आदर्श वा पार्टीप्रतिको लगाव होइन । यो राजनीतिक दाउ मात्र हो । ओलीको गिरावटको मूल्याङ्कन गरी उनीहरू अहिले 'परिवर्तनका सारथि' बनेर अगाडि सर्न खोज्दै छन् । उनीहरूको लक्ष्य आफ्नो व्यक्तिगत राजनीतिक भविष्य सुरक्षित गर्नुबाहेक अरु केही होइन । 

यदि उनीहरू वास्तवमै परिवर्तन चाहन्थे भने पार्टी हार्नुअघि नै बोल्थे, वैकल्पिक धारणा राख्थे । तर उनीहरूले त्यो गरेनन् । किनभने त्यतिखेर ओलीको आशिर्वाद पाइरहेका थिए । ओलीको छत्रछायामा लाभ मिलिरहेको थियो । ओलीले सेतोलाई कालो र कालोलाई सेतो भन्दा यिनीहरु नै चार बित्ता उफ्रेर सही थाप्थे । यो मौकापरस्त प्रवृत्ति एमाले पंक्तिले समयमै चिन्नु आवश्यक छ । 

एमालेलाई पुनःनिर्माण गर्ने हो भने युवा अघि सर्नुको विकल्प छैन । जो हिजो ओलीसँग थिए, जो हिजो सुविधा र शक्तिको केन्द्रमा थिए, उनीहरू अहिले परिवर्तनको मुखौटा लगाएर अघि बढिरहेका बेला युवा सचेत हुनुपर्छ । कुनै पनि नयाँ आवरण देखेर अन्धाधुन्ध साथ दिनुपर्छ भन्ने छैन । पुरानै अनुहार, पुरानै व्यवहार, पुरानै मानसिकता भएको मान्छेले नयाँ के दिन सक्छ ? हिजो ओलीको काखमा बसेर राइँदाइँ गर्नेहरु अब नयाँ आवरणमा देखिँदैमा उनीहरु नयाँ भइहाल्दैनन् ।

सबैभन्दा सरल तर गहिरो सत्य हो भने फेसन परिवर्तन गर्दैमा मान्छे परिवर्तन हुँदैन । मुखौटा परिवर्तन भएपछि व्यक्तित्व परिवर्तन हुँदैन । हिजो ओलीको सुविधाको हिस्सेदार, ओलीको प्रशंसक, ओलीकै भरमा नेतृत्वमा पुगेका यी मान्छेहरू आज ओलीकै विरोधी बन्नुको कुनै तुक छैन । 

'हो पौडेल अहिले ठीक बोल्छन्, गुरुङ ठीक हुनुहुन्छ' भन्ने बानी पनि एमाले कार्यकर्तामा छ । तर सम्झनुहोस्– जब ओलीले आफ्ना प्रतिद्वन्द्वीलाई दबाए, यिनीहरू किन चुप थिए ? पार्टीभित्रबाट असल नेताहरुलाई पाखा लगाउँदा यिनीहरूले किन साथ दिए ? तसर्थ अहिलेको नयाँपन मौसमी फूलजस्तै हो । केही समय टिक्छ, फेरि ओइलाउँछ ।

ओली प्रधानमन्त्री हुँदा उनका निकटस्थहरू मात्रै मन्त्री बन्थे । उनीहरूले सरकारी विभाग, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय यात्रा, अवसरको प्रशस्तै सदुपयोग गरे । सार्वजनिक पदमा पुगेर नीति निर्माणमा प्रभाव पारे र व्यापारीहरुसँग मिलिभगत पनि गरे । धेरैले जीवनभर सोच्नै नसकिने सम्पन्नता कमाए । यिनीहरुले अवसर पाइरहँदा कहिल्यै पार्टीको पुनर्गठनको कुरा उठेन । कहिल्यै आत्मसमीक्षाका पक्षमा उभिएनन् । 

बरु ओलीबाट लाभ लिएकाहरुले प्रशस्त धनदौलत थुपारेका छन् । उनीहरूको सम्पत्ति र व्यवसाय देखेर आम नेपालीले जिब्रो काढ्दै छन् । जग्गा–जमिन, गाडी, कम्पनीका सेयर, ठूला घर । यो कताबाट प्राप्त भयो ? 

पार्टीमा इमानदारीलाई मूल्याङ्कन गर्ने मापदण्ड कमजोर भएको छ । यिनीहरुले नै ओलीको आडमा भ्रष्टाचार र अकुत सम्पत्ति ढाकछोप गरेका छन् । एमालेको नाम र संरचनाको प्रयोग गरेर आर्थिक लाभ लिएका छन् । राजनीतिक नियुक्ति सिफारिस गर्न, भ्रष्टाचार छोप्न र कानुनी उल्झनबाट बच्न पार्टीलाई ढाल बनाएका छन् । ठेक्कापट्टामा पहुँच र सरकारी निर्णयलाई आफ्नो पोल्टामा पार्नु यिनीहरुले विशेषाधिकार नै ठान्थे । 

उनीहरुले पार्टीमा इमानदारहरुलाई पाखा लगाएका छन् र आफन्तहरुको जालो निर्माण गरेका छन् । जो चुप बस्दैन थिए, जसले प्रश्न उठाउँथे, जसले पारदर्शिता माग्थे, जो ओलीको प्रशंसा गर्दैन थिए, उनीहरूलाई पाखा लगाइयो । त्यसको सट्टा निकटस्थ र आफन्तलाई राखियो । यो नातावाद र कृपावादले स्वच्छ प्रतिस्पर्धा र आन्तरिक लोकतन्त्र नामेट भयो । प्रतिभा र इमानदारीको सट्टा निकटता नै मुख्य मापदण्ड बन्यो । अब त्यो जालो भत्काएर पार्टीले न्यायपूर्ण र समावेशी बाटो अंगीकार गर्नुपर्छ । त्यसका लागि एमालेको शीर्ष तहमा रहेका सबैजना बिदा हुनैपर्छ । कम्तीमा दुई पटक सांसद भएका, दुईपटक मन्त्री भएका र दुईपटक केन्द्रीय समितिमा बसिसकेकाहरु सबैले पार्टीको जिम्मेवारी छाड्नुपर्छ । अब नयाँ, शिक्षित र युवाहरु अघि सर्नुपर्छ । अनि मात्र नयाँ र ताजा एमाले बन्छ ।