क्युबाविरुद्ध सैन्य कारबाही गर्ने अमेरिकाको धम्की

वासिङ्टन डिसी । संयुक्त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विदेशमन्त्री मार्को रुबियोले क्युबाविरुद्ध सैन्य कारबाही गर्न सकिने नयाँ चेतावनी दिएका छन् ।

रुबियोले बिहीबार राति पत्रकारहरूसँग कुरा गर्दै क्युबा लामो समयदेखि अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा बनेको बताए । उनले क्युबाको अमेरिका–विरोधी शक्ति रुस र चीनसँगको सम्बन्धलाई त्यसको कारणको रूपमा बताएका छन् । यता ट्रम्पले आफू नै अन्ततः क्युबाविरुद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने सङ्केत गरेका छन् ।

क्युबा अमेरिकाका लागि सुरक्षा खतरा भएको विदेशमन्त्री रुबियोको दाबी
क्युबा अमेरिकाका लागि सुरक्षा खतरा भएको विदेशमन्त्री रुबियोको दाबी
क्युबाली मूलका अमेरिकी रुबियो अग्रपङ्क्तिमा रहेको ट्रम्प प्रशासनले साम्यवादी नेतृत्व रहेको टापु राष्ट्रमाथि दबाब बढाउँदै आएको छ । प्रशासनले ‘सत्ता परिवर्तन’ गराउने उद्देश्यले इन्धन नाकाबन्दीसहितका कदम चालेको बताइएको छ, जसले क्युबाको अर्थतन्त्रलाई पतनको सङ्घारमा पुर्‍याएको छ ।

हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ । अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध अभियोग दर्ता गरेको छ भने क्यारिबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा पारिरहेको छ ।

‘राष्ट्र निर्माण’ गर्ने उद्देश्य भएको आरोप अस्वीकार गर्दै रुबियोले यो विषय ‘राष्ट्रिय सुरक्षा’सँग सम्बन्धित रहेको बताए । उनले वार्तामार्फत समाधान अमेरिकाको ‘प्राथमिकता’ भए पनि क्युबासँग कूटनीतिक समाधानको सम्भावना ‘धेरै नरहेको’ बताएका छन् ।

रुबियोले भने, ‘उनीहरूको आर्थिक प्रणाली काम गर्दैन । त्यो भत्किएको छ, र अहिलेको राजनीतिक प्रणाली रहँदासम्म त्यसलाई सुधार्न सकिँदैन ।’

उनले वर्षौँदेखि क्युबाले ‘समय घर्काउने र अमेरिकालाई थकाउने’ रणनीति अपनाउँदै आएको बताए । ‘अब उनीहरूले समय थर्काएर वा हामीलाई पर्खाएर जित्न सक्दैनन् । हामी निकै गम्भीर र केन्द्रित भएका छौँ,’ उनले भने ।

अर्कोतर्फ राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै दशकौँदेखि अमेरिकी राष्ट्रपतिहरूले क्युबामा हस्तक्षेप गर्नेबारे सोच्दै आएको बताएका छन् । ‘तर त्यो काम गर्ने व्यक्ति म नै हुने देखिन्छ,’ उनले भने । त्यसो गर्न पाउँदा आफू ‘खुसी’ हुने पनि उनले बताए ।

यसको प्रतिक्रिया दिँदै क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले रुबियोमाथि झुट बोल्दै क्युबालाई खतराको रूपमा चित्रण गरेको आरोप लगाएका छन् । ‘अमेरिकी विदेशमन्त्रीले फेरि झुट बोलेर सैन्य आक्रमण भड्काउन खोजिरहेका छन्, जसले क्युबाली र अमेरिकी दुवैको रगत बगाउन सक्छ’ उनले भनेका छन् ।

सत्तामा फर्किएपछि ट्रम्पले क्युबामाथि थुप्रै प्रतिबन्ध लगाएका छन्, इन्धन नाकाबन्दी लागू गरेका छन् भने आसपासका क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढाएका छन् ।

बिहीबारको नयाँ धम्की दुई देशबिच बढ्दो तनावका बिच आएको हो । अमेरिकाले बुधबार सन् १९९६ मा एउटा विमान खसालिएको घटनासँग सम्बन्धित आरोपमा राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गरेको थियो ।

बिहीबार क्युबाली सैन्य नियन्त्रणमा रहेको र देशको ठुलो अर्थतन्त्र सञ्चालन गर्ने समूह ‘ग्रुप अफ एडमिनिस्ट्रेसन इम्पेरियल’का उच्च अधिकारीकी एडिस लास्त्रे मोरेरालाई पक्राउ गरिएको थियो ।

गत सातामात्र क्युबा सरकारमाथि थप प्रतिबन्धहरू लगाइएका थिए । अमेरिकी सेनाले विमानवाहक युद्धपोतसहित केही नौसैनिक जहाज बुधबार क्यारिबियन क्षेत्रमा ल्याइएको घोषणा गरेको थियो । ती जहाजहरू ल्याटिन अमेरिकी साझेदार राष्ट्रहरूसँग समुद्री अभ्यासमा सहभागी हुने बताइएको छ ।

रुबियोले यसअघि क्युबाले सुधारको बदलामा १० करोड डलर सहायता प्रस्तावमा प्रारम्भिक सहमति जनाएको बताएका थिए । तर अमेरिकाले सैन्य समर्थित समूह ‘गाएसा’लाई बेवास्ता गरेर सहायता पुर्‍याउन चाहेकाले क्युबाका सर्तहरू स्वीकार गरिने कि नहुने स्पष्ट नभएको उनले बताए ।

विश्लेषकहरूले ट्रम्प र रुबियोले भेनेजुयलामा लागू गरिएको ‘सत्ता परिवर्तन’ रणनीति क्युबामा पनि दोहोर्‍याउन खोजिरहेको चेतावनी दिएका छन् । गत जनवरीमा भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई सैन्य कारबाहीमार्फत पक्राउ गरी अमेरिका लगिएको थियो, जहाँ मदुरोमाथि ‘नार्को-आतंकवाद’को आरोप लगाइएको थियो ।

रुबियोले चीन र रुससँगको सुरक्षा तथा गुप्तचर सम्बन्धका कारण क्युबाले अमेरिकाको राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको दाबी गरेका छन् । 

चीन र रुस दुवैले क्युबामाथिको अमेरिकी दबाबको आलोचना गरेका छन् ।

चीनले शुक्रबार क्युबालाई ‘दृढ समर्थन’ रहेको जनाउँदै अमेरिकालाई तनाव कम गर्न र ‘बल प्रयोगको धम्की बन्द गर्न’ आग्रह गरेको छ । त्यसैगरी, रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘हामी विश्वास गर्छौँ कि कुनै पनि अवस्थामा हिंसाको सीमासम्म पुग्ने यस्ता अभ्यासहरू पूर्व वा वर्तमान राष्ट्र प्रमुखविरुद्ध प्रयोग गरिनु हुँदैन ।’