अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

नेपाल ‘ए’ ले अमेरिकाविरुद्धको एकदिवसीय शृङ्खलाको छैटौँ खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको छ । निर्धारित ५० ओभरको खेलमा नेपालले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका ४९.१ ओभरमा २५७ रन बनाउँदै अलआउट भएपछि नेपालले जित निकालेकाे हो ।

पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २६४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । नेपालका लागि ब्याटरहरूले मध्यम सुरुवात गरे पनि अन्त्यतिर बलियो स्कोर बनाउन सफल भए ।

जवाफी लक्ष्य पछ्याएको अमेरिकाका लागि शेहान जयसूर्याले उत्कृष्ट ७१ रनको इनिङ्स खेले पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । त्यस्तै सुभम रञ्जानेले ४७ र शायन जहाङ्गीरले ४१ रनको योगदान दिए ।

ओपनर स्मित पटेल ३३ रनमा रनआउट हुनु अमेरिकाका लागि घातक साबित भयो । तल्लो क्रमका ब्याटरहरू सस्तैमा समेटिएपछि अमेरिका लक्ष्यभन्दा ७ रनले पछि रहन पुग्यो ।

नेपालको जितमा बलरहरूको प्रदर्शन निर्णायक रह्यो । शेर मल्लले ४ विकेट लिँदा बसिर अहमदले किफायती बलिङ गर्दै ८ ओभरमा ४४ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । त्यस्तै कुशल मल्लले पनि किफायती बलिङ गर्दै अमेरिकाको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए । शहाब आलम र पवन सर्राफले समान १–१ विकेट हात पारे ।