श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर

काठमाडौं । साहिबजादा फरहानको ऐतिहासिक शतक र श्रीलंकामाथिको रोमाञ्चक जितका बाबजुद पाकिस्तान टी-२० विश्वकपको ‘सुपर-८’ चरणबाटै बाहिरिएको छ ।

नेट रनरेटको गणितीय समीकरणमा पछि परेपछि पाकिस्तान बाहिरिएको हो भने समूह-२ बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल पुग्न पाकिस्तानले २ सय १३ रनको विशाल लक्ष्य दिएको श्रीलंकालाई १ सय ४७ रनभित्रै रोक्नुपर्ने बाध्यता थियो । तर, श्रीलंकाले १५.५ ओभरमै ५ विकेट गुमाएर उक्त आँकडा पार गरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा टुंगियो भने न्युजिल्यान्ड (+१.३९० नेट रनरेटसहित) भाग्यमानी सावित भयो। पाकिस्तानको नेट रनरेट (-०.१२३) रहन पुग्यो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले टी-२० विश्वकपकै आफ्नो उच्च योगफल बनाउने क्रममा निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । ओपनरद्वय फरहान र फखर जमानले पहिलो विकेटका लागि १ सय ७६ रनको सानदार साझेदारी गरे । फरहानले ६० बलमा सय रन (९ चौका, ५ छक्का) बनाए भने फखरले ४२ बलमा ८४ रन जोडे ।

विशाल लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट लडाइँ गर्‍यो । विशेषगरी कप्तान दासुन शनाकाले ३१ बलमै अविजित ७६ रन जोड्दै श्रीलंकालाई जितको नजिक पुर्‍याएका थिए । अन्तिम ओभरमा जितका लागि २८ रन चाहिएको अवस्थामा शनाकाले १ चौका र ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाए । तर, शाहीन अफ्रिदीले सटिक योर्कर फ्याँक्दै श्रीलंकालाई २०७/६ को स्कोरमा रोकेर पाकिस्तानलाई ५ रनको सान्त्वना जित दिलाए। श्रीलंकाका लागि बलिङमा दिलशान मदुशंकाले ३ विकेट लिए ।

टिम विश्वकपबाट बाहिरिए पनि पाकिस्तानी ब्याटर साहिबजादा फरहानका लागि यो प्रतियोगिता कीर्तिमानी रह्यो । उनले यस विश्वकपका ६ इनिङ्समा ७६.६० को औसतमा कुल ३ सय ८३ रन बनाए ।

योसँगै फरहानले टी-२० विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने विराट कोहली (सन् २०१४ मा ३१९ रन) को कीर्तिमान तोडेका छन् । यसका साथै उनी एउटै विश्वकपमा दुईवटा शतक प्रहार गर्ने पहिलो ब्याटरसमेत बनेका छन् । यसअघि उनले नामिबियाविरुद्ध पनि अविजित शतक प्रहार गरेका थिए। प्रतियोगितामा सर्वाधिक छक्का (१८) प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा पनि फरहान नै रहे ।