बिमाको अढाइ करोड रुपैयाँको लागि हत्या गर्ने चार जनाले सम्पत्ति शुद्धिकरण गरेको भन्दै आठ–आठ वर्ष कैद

१३ चैत, काठमाडौं।बाँकेका सर्जन विकको हत्या घटनामा संलग्न चार जनालाई जनही ८–८ वर्ष कैद भएको छ । मंगलबार विशेष अदालतले बिमा रकमका लागि बिमितको हत्या गरेको घटनामा सम्पत्ति शुद्धिकरण कसूर गरेको ठहरसहित सजाय निर्धारण गरेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । यस मुद्दामा ४ चैतमा यसै इजलासले कसूर ठहर गरेको थियो । यस घटनामा संलग्न पाँच जनामाथि कसूर कायम भएकोमा उनीहरुलाई सजाय सुनाइएको हो । 

यस घटनामा चार प्रतिवादीलाई जनही ८–८ वर्ष र एक जना मतियारलाई चार वर्ष सजाय सुनाइएको छ । विशेषका अनुसार सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँलाई ८ वर्ष कैद हुने भएको छ । 

उनीहरु चारै जनालाई बिगोको दोब्बर जरिवाना समेत हुने भएको छ । विशेषले मल्ललाई ७२ लाख १८ हजार, अर्याललाई ८० लाख ३६ हजार, खाँलाई २० लाख रुपैयाँ र केसीलाई ६० लाख रुपैयाँ बिगो निर्धारण गर्दै यसको दोब्बर जरिवाना तिर्ने फैसला गरेको हो । 

यसैगरी मल्ल, अर्याल र केसीका नाममा रोक्का रहेको बैंक खाताको रकम र खाँको नाममा रहेको जग्गा जफत हुने फैसला विशेषले गरेको छ । साथै अर्की प्रतिवादी र मल्लकी आमा छविकुमारी खत्रीका नाममा रहेको जग्गा पनि जफत हुने भएको छ । 

यस मुद्दामा विशेषले रुपक रानालाई मतियार ठहर गरेको छ । उनलाई चार वर्ष कैद तथा ३६ लाख नौ हजार रुपैयाँको दोब्बर जरिवाना हुने फैसला भएको हो । 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यसै वर्ष २३ असोजमा मुद्दा दर्ता गराएको थियो । मृतक विकको विवाह प्रतिवादी मल्लसँग २८ फागुन २०७७ मा भएको थियो । विदेश पठाइदिन भनी नक्कली विवाह गराएका एजेन्ट अर्यालले बिमा एजेन्ट खाँमार्फत् सोहि दिन नै विकको जीवन बिमा गरिदिएका थिए । 

विकले आफ्नो वार्षिक दुई लाख रुपैयाँ रहेको भनी बिमाको सम्झौतापत्रमा स्वघोषणा गरेका थिए । तर विकको पहिलो किस्तावापतको पाँच लाख ४० हजार रुपैयाँ भने अर्यालले नै तिरेको अनुसन्धानबाट खुलेको थियो । 

विवाहको एक महिनापछि २ वैशाख २०७८ मा विकको सवारी दुर्घटनामा ज्यान गएको थियो । विकको नाममा २५ वर्षका लागि कूल दुई करोड ५० लाख रुपैयाँको बिमा गराइएको थियो ।

विकको मृत्युपछि उनकी कागजी श्रीमती मल्लले उक्त रकम झिकेकी थिइन् । मल्लका साथै उक्त रकम केसी, अर्याल र खाँले आपसमा बाँडेका थिए ।