धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कार

व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सिमानास्थित चुँदीखोलामा बृहत सरसफाइ अभियानअन्तर्गत धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ । 

    व्यास नगरपालिका–४ दमौलीका अभियान्ता सुदीप गफ्फारको सक्रियतामा बुल्दी–चुँदीखोलामा बृहत् सरसफाई अभियान गर्न लागिएको हो । उहाँका अनुसार धेरै फोहर सङ्कलन गरी प्रहिलो हुनेलाई रु १० हजार र दोस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । 

    बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यले वृहत् सरसफाइ अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।”

    बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा आगामी जेठ ५ गते सरसफाइ अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसलाई बचाउन सकिए भने भविष्यमा बुल्दीखोला र चुँदीखोलाको अस्तित्व सङ्कटमा पर्नेछ ।”

    अभियानका लागि हरेक टोल र क्लबसँग समन्वय गरिएको बताउँदै उहाँले एउटा टोलीमा १५ जना सहभागी हुनसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लबसँग सहकार्य गर्नेछु । सरसफाइ अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।”

    बुल्दी र चुँदीखोला सरसफाइ अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्रतियोगितात्मक रुपमा वर्षको एकपटक मात्रै अभियान सञ्चालन गरिने र त्यसपछिका हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सरसफाइ अभियान हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म बुल्दी र चुँदीखोला कञ्चन हुँदैन, तबसम्म सरसफाइ अभियान जारी रहनेछ ।”

    बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।