स्पट फिक्सिङका अभियुक्त महबुब आलमसमेत पाँचैलाई सफाइ

१२ चैत, काठमाडौं।‘स्पट फिक्सिङ’ गरेको अभियोग लागेका क्रिकेट खेलाडीसमेत पाँच जनाले सफाइ पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले एक वर्ष अघि दायर मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो । 

नेपाल क्रिकेट संघको आयोजनामा २०२२ को डिसेम्बर २४ देखि २०२३ को ११ जनवरीसम्म आयोजित टी–२० खेलमा स्पट फिक्सिङ गरेको भन्दै मुद्दा दायर भएको थियो । ५ फागुन २०७९ मा दायर मुद्दामा न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । 

उक्त खेलका क्रममा सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आयोजकहरु सम्पर्कविहीन भएको, खेलाडीको पारिश्रमिकमा अनियमितता गरेको र स्पट फिक्सिङ गरेको भन्दै मुद्दा दायर भएको थियो । लिगसँग सम्बद्ध विभिन्न व्यक्तिहरुको कागज तथा लिगको भिडियो फुटेज, स्कोर बोर्डसमेतका विवरणहरु विश्लेषण गरी प्रहरीले दुई क्रिकेट खेलाडीका साथै पाँच जनाउपर खेलमा मिलेमतो तथा अनियमितता गरेको निष्कर्षसहित अभियोग दर्ता गराएको थियो । 

क्रिकेट खेलाडी महबुब आलम र मोहमद आदिल आलमसमेत पाँच जनाले सफाइ पाएका हुन् । नितेश गुप्ता, नविन कँडेल र रवि माझीलाई पनि विशेषले सफाइ दिएको हो । 

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ विरुद्धको कसूरमा उनीहरुमाथि मुद्दा चलेको हो । लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवद्र्धनमा आँच पु¥याएको आरोप लगाइए पनि पुष्टि नभएपछि पाँचैले सफाइ पाएका हुन् ।