किन बढ्यो सुनको मूल्य ?

काठमाडाैँ।  सुनको मूल्य बृद्धि हुनुमा नेपाली बजारले खासै भूमिका खेल्दैन । अन्तर्राष्ट्यि बजारमा भएको सुनको माग र आपूर्तिले मूल्य घटबढमा मूख्य भूमिका खेल्छ । तर, सुनको माग र आपूर्ति घटबढ हुनुमा भने धेरै पक्ष जिम्मेवार हुन्छ ।

अमेरिकासहित शक्तिशाली मुलुकहरूको ब्याजदर र स्टक मार्केट घटबढ, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकहरूको अर्थतन्त्रको गति र अन्तर्राष्ट्रिय द्वन्द्व आदि यसको मूख्य जिम्मेवार हुन् ।अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राखेमा र कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण गरेको हुन्छ ।

सन् २०२४ मा विश्वव्यापी मन्दीको डर, विवाहको सिजनका कारण सुनको माग बृद्धि हुनु, डलर परिसूचक कमजोर हुनु विश्वभरका केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्नुलगायतका कारणले अहिले विश्व बजारमा सुनको भाउ बढेको हो ।

हाल अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर घटाउने सङ्केत दिएको कारण पनि सुनको मूल्य प्रभावित बनेको पूर्व अध्यक्ष शाक्यले बताए । फेडरल रिजर्भ बैङ्कको बुधबार र बिहीबारको बैठकपछि अध्यक्ष जेरोम पावेलले दिएको एक वक्तव्यमा फेडरल रिजर्भले ब्याजदर घटाउन सुरु गर्नेबारे सङ्केत दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याजदर घटाउन लागेको जानकारी निरन्तर दिइरहेका छन्। जसले गर्दा डलरमा आकर्षण घटिरहेको छ ।

डलर कमजोर भएपछि सुनमा आकर्षण बढ्छ । लगानीकर्ताहरूले सुनमा लगानी सुरक्षित ठानेपछि माग बढछ । त्यस्तै, मध्यपूर्वमा जारी युद्धले पनि यसमा भूमिका खेलेको उनको भनाइ छ । यद्यपि, यो भने प्रमुख कारण नभएको बताए ।

उनका अनुसार ब्याज दर घट्ने समाचारले लगानीकर्ताहरूले बैङ्कमा राखिएका पैसा झिकेर सुनमा लगानी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले भने सन् २०२४ मा विश्वव्यापी मन्दीको डर, विवाहको सिजनका कारण सुनको माग बृद्धि हुनु, डलर परिसूचक कमजोर हुनु विश्वभरका केन्द्रीय बैङ्कहरूले सुन खरिद गर्नुलगायतका कारणले अहिले विश्व बजारमा सुनको भाउ बढेको बताइरहेका छन् ।

अझै कति पुग्ला ?

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.०६ प्रतिशतले बढेर प्रतिऔँस २ हजार १८०.४७ डलर कायम भएको छ । अब यो मूल्य बढेर २२ सय डलर पुग्ने अनुमान गरिएको छ ।

सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ । त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।

यदी, सुनको मूल्य प्रतिऔँश २२ सय डलर पुगेमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पर्न जान्छ ।नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो ।

१५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ ।

अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।