बागमती प्रदेशसभाको बैठकबाट विशेष समिति गठन

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले  बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरेको छ । 

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच भएको सहमति अनुसार सत्तापक्षका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले विशेष समिति गठनको प्रस्ताव टेबुल गर्नुभएको थियो । उहाँलाई सभामुख भुवनकुमार पाठकले प्रस्ताव टेबुल गर्न समय दिनुभएको थियो ।

प्रदेशसभा सदस्य ढकालले प्रस्तुत गर्नुभएको उक्त विशेष समितिको प्रस्तावलाई इन्द्रप्रसाद गोतामे, रमा आले मगर, शैलेन्द्र बज्राचार्य र मधुसुदन पौडेलले सर्मथन गर्नुभएको थियो । बैठकले उक्त समितिको संयोजकमा गोविन्द लम्सालसहित ११ सदस्यीय समिति गठन गरिएकामा सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ । उक्त विशेष समितिको सदस्यहरुमा डा दिनेशचन्द्र देवकोटा, इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, प्रभात तामाङ, वसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य हुनुहुन्छ ।

विशेष समितिले बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी प्रतिवेदन यही फागुन २९ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्न अनुमति दिएको छ । यसैगरी, उक्त बैठकमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश हस्तकलाग्राामको स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्नुभयो । 

बागमती प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।