मधेस सरकारबाट बाहिरिएको जनमत केन्द्रमा के गर्छ  ?

एक वर्षे टसलपछि जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको गठबन्धन आवद्ध दलको मधेस सरकारबाट जनमतका दुबै मन्त्रीले मंगलबार राजीनामा दिएका हुन् ।

मंगलबार बसेको जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार श्रम तथा यातायातमन्त्री चन्दन सिंह र शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले राजीनामा दिए । जनमतले मधेस सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ  ।

मधेसमा दोस्रो शक्ति रहेको जनमत साढे दुई वर्ष मुख्यमन्त्री लिने सहमतिमा सरकारमा गएको थियो । त्यतिखेर एमाले, माओवादीसहितको गठबन्धनमा जसपा र जनमतले नेतृत्व बाँड्ने सहमति भएको थियो । तर, यो  सहकार्य एक वर्ष पनि टिकेन ।

मधेस सरकारबाट जनमत बाहिरिनुको मुख्य कारण सप्तरीको राजविराजमा सोमबार कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषय हो । सप्तरीमा जनमतका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । तर, मधेसका मुख्यमन्त्री सरोज यादवले उपेन्द्र यादवबाट भवन शिल्यान्यास गराए । जनमतको भनाइ भने जनमतका अध्यक्षको निर्वाचन क्षेत्रमा अरुलाई शिलान्यास गर्न दिने नहुने थियो । तर, प्रहरी परिचालन गरेर शिलान्यास गरियो ।

शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव घाइतेसमेत भए । यही घटनाका कारण जनमत सरकारबाट बाहिरिएको हो ।
जनमतका प्रवक्ता शरदसिंह यादवले सत्तागठबन्धनमा भएको सहमतिको उल्लंघन र मधेशका मुख्यमन्त्रीले शासकीय दम्भका कारण सरकारबाट बाहिरिनु परेको बताए । 

मधेस सरकारबाट जनमत बाहिरिएपछि अब केन्द्रमा के गर्ला भन्ने प्रश्न छ । तर, यादवले भने यसबारे निर्णय भइनसकेको बताए । तर, पनि जनमत केन्द्र सरकारमा पनि असन्तुष्ट । यसअघि आफूले चाहेको मन्त्रालय नपाएको भन्दै बाहिरिएको थियो । तर, पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फकाएर सरकारमा ल्याएका थिए ।

 केन्द्र सरकारमा जनमतकी अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनले जनमत पार्टीलाई भाग नदिएपछि अध्यक्ष राउत असन्तुष्ट छन् । सत्ता गठबन्धनमा रहेका मुख्य चार दलले मात्रै राष्ट्रियसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँट गरेपछि जनमत पार्टीले मधेश प्रदेशमा उम्मेदवार उठाएको छ ।

मधेश प्रदेशमा जनमत पार्टीले सत्ता गठबन्धनविरुद्ध नै उम्मेदवार उठाएपछि अध्यक्ष डा राउतलाई सत्ता गठबन्धनको बैठकमा बोलाउन छोडिएको छ ।