कोशी प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि आव्हान

काठमाडौं । कोशी प्रदेशसभाको बैठक कार्तिक १ गतेका लागि बोलाइएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते स्थगित गरिएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त भएपछि बोलाइएको हो ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बुधबारका निम्ति बोलाइएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

उनले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने बताइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।