एनआरएनएद्वारा १ करोड २० लाखको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार एन्टीजिन किट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’

मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गरे ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा। केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भएदेखि नै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गरे । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धताअनुसार थप स्वास्थ्य सामग्री नेपाल भित्र्याउन पहल गरिने जानकारी पनि दिए । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिडविरुद्ध लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति समेत गठन गरेको छ ।