औकात बिर्सेर प्रधानमन्त्रीको ललीपपमा भुल्दा बाबुरामको हविगत हुँदै छ माधवको

कुनै बेला पुष्पकमल दाहालको नाम जनतालाई थाहा थिएन । प्रचण्ड पनि कुनै काल्पनिक नामजस्तै थियो । तर बाबुराम भट्टराईलाई सबैले चिन्थे । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी । इन्जिनियरजस्तो प्रतिष्ठित पेसा । श्रीमतीसमेत पढालेखा र राजनीतिक कुलखानदानकी । 

माओवादीमा छँदासम्म बाबुरामको एक हदसम्म इज्जत थियो । उनीसँग राम्रै संगठन पनि थियो । पहिलोपल्ट अर्थमन्त्री र त्यसपछि प्रधानमन्त्री बन्दा उनले केही छाप अवश्य छाडेका थिए । त्यसपछि पनि उनी अवश्य प्रधानमन्त्रीमा दोहोरिनेछन् भन्ने आमअमेक्षा थियो । तर उनले जब मूल धार छाडे, त्यसपछि भुईं न भाँडामा हुन पुगे । अहिले उनलाई साथ छाड्न बाँकी श्रीमती र छोरी मात्र रहेका छन् । बाँकी साराले साथ छाडिसके । 

ठिक यही अवस्था माधव नेपालको हुँदै छ । उनले एमाले फुटाए । एमाले सिध्याउन माओवादीसँग मिले । कांग्रेससँग मिले । भारतसँग मिले । तर एमाले सिद्धिएन । तर उनी भने आफै सिद्धिने चरणमा पुगेका छन् । 

यतिखेर सुदूरपश्चिम प्रकरणले माधव नेपाललाई झनै नराम्रोसँग नंग्याइदिएको छ । पार्टीभित्र उनका आफ्नै विश्वासपात्रहरुले साथ छाड्दै छन् । सुदूरपश्चिमको सत्ता समीकरणलाई लिएर नेकपा एकीकृत समाजवादीमा स्पष्ट दुई धार देखिए । अध्यक्ष माधव नेपाल कांग्रेससँग सहकार्य बढाउन लागिपरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा अघि सारिएका दीर्घ सोडारीप्रति अनिच्छुक देखिएपछि नेपाल कांग्रेससँग संवाद गर्न पुगेका होइनन् । एमालेसँगको सहकार्य टुटाउन उनी लागिपरेकाले कांग्रेससँग हिमचिम बढाएका हुन् । 

अध्यक्ष नेपालले यसबीचमा कांग्रेस नेता शेरबहादुर देउवासँग धेरै चरणमा वार्ता गरे । कांग्रेसले प्रदेशदेखि केन्द्रसम्मै गठबन्धन गर्न एकीकृत समाजवादीलाई मनाउन खोजिरहेको छ । उसको ठाउँबाट हेर्दा कांग्रेसको प्रयास अन्यथा होइन । तर माधव नेपाल नैतिक र राजनीतिक रुपमा कति निम्न कोटिमा पुगेका छन् भन्ने उनका गतिविधिले प्रस्टै देखाउँदै छन् । 

 सुदूरपश्चिममा यसअघि नै एकीकृत समाजवादी र कांग्रेस मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका थिए । उक्त दाबी प्रदेश प्रमुखले अस्वीकार गरिदिएपछि अब एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अघि सार्ने भयो । त्यसमा कांग्रेसको समर्थन जुटाउन नेपाल लागिपरे । यसै क्रममा बुधबार साँझ उनले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरे ।

यसअघि वैशाख २ गते एकीकृत समाजवादीकै नेता झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए । उक्त भेटपछि एकीकृत समाजवादीबाटै मुख्यमन्त्री बनाउन सत्तागठबन्धनको सहमति जुटाइएको थियो । तर, एकीकृत समाजवादीले दीर्घ सोडारीलाई अघि सार्न खोजेपछि एमाले नेतृत्वले अनिच्छा प्रकट गरेको थियो ।

समाजवादीमा हालको गठबन्धन तोड्न नहुने, बरु मुख्यमन्त्रीको उम्मेदवारको विकल्प खोज्नुपर्ने भन्ने एउटा समूहको धारणा थियो भने अर्को समूहले गठबन्धन फेरेर भए पनि सोडारीलाई नै बनाउन जोड गरिरहेको थियो । तर माधव नेपाल भने यो वा त्यो बहानामा गठबन्धन भत्काउन लागेका थिए । यसको कारण हो कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएको प्रधानमन्त्रीको ललीपप हो । 

यता सत्ता गठबन्धन फेरेको बल्लतल्ल एक महिना पुगेको छ । दुई महिना पनि पूरा भएको छैन । अहिले नै गठबन्धन भत्काउन लाग्नु भनेको माधव नेपाल कति अनैतिक र पदलोलुप छन् भनेर उदांगो बन्नु हो । तर माधव नेपालले यस्तो फोहोरी खेल खेले भन्दैमा उक्त पार्टीका युवा तथा सम्भावना भएका नेताहरु सती जाने पक्षमा छैनन् । उनीहरुले बरु माधव नेपालको साथ छाड्ने लगभग पक्काजस्तै देखिएको छ । झलनाथ खनालको नेतृत्वमा उनीहरु एक भएका छन् र माधव नेपाललाई एक्ल्याउन लागेका छन् । जसरी पनि यही गठबन्धन कायम राख्ने र माधव नेपालको पदलोलुपतालाई लोप्पा खुवाउने उनीहरुको योजना छ । यो योजना सफल भएमा माधव नेपाल दोस्रो बाबुराम बन्नेछन् ।