प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ : ऊर्जामन्त्री बस्नेत

काठमाडाैँ।बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज एक समारोहका बीच नेपालगञ्जमा सो सवस्टेशनको शिलान्यास गर्नुभएको हो । सो प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट रहेको छ । यस्तै, ३३ केभी क्षमताको सवस्टेसनको पनि आजै शिलान्यास भएको छ ।

सो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा थप सहजता पैदा हुने आयोजना प्रमुख रञ्जनराज गुरुङले जानकारी दिनुभयो ।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले आन्तरिकरूपमा बिजुलीको खपत बढाउन सरकार लागिपरेको बताउनुभयो । सोही उद्देश्य परिपूर्तिका लागि प्रसारण लाइनकोे निर्माण तथा सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको उहाँले जानकारी दिनुभयो । उहाँले बढी भएको बिजुली मात्रै निकासी गरिने उल्लेख गर्नुभयो ।

कूल १० किलोमिटर लामो सो प्रसारण लाइन निर्माणपछि नेपाल र भारतबीच विद्युत् व्यापारमा समेत नयाँ ढोका खुल्नेछ । कूल दुई सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने सो प्रसारण लाइनको निर्माणपछि भारतको नानपाराबाट बाँकेको नेपालगञ्जमा जोडिएको पुरानो लाइन विस्थापित हुनेछ । कम क्षमताको सो प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।

प्रसारण लाइनको निर्माणपछि बाँके र आसपासका क्षेत्रमा औद्योगिक विकास, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासमा टेवा पुग्ने आयोजना प्रमुख गुरुङको भनाइ छ । यस्तै, विद्युत् खरिद बिक्रीमा सहजता तथा आय आर्जनमा वृद्धि हुनेछ ।

निरन्तर विद्युत् आपूर्ति, राष्ट्रिय ग्रिड सुदृढीकरण, जनगुनासोमा कमी आउने आयोजनाले विश्वास लिएको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिल्वाललगायतको उपस्थिति थियो ।