वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

बाँकेमा मृतावस्थामा भेटियो पाटे बाघ

काठमाडाैँ।बाँकेमा मृतावस्थामा बाघ भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिनुभयो ।

आज विश्व पर्यटन दिवस मनाइँदै

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै

राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २७ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको हो ।

प्रचण्डले सफाइ दिए पनि नेपाल र भट्टराईमाथि सर्वोच्चले देखायो कानुनको तरबार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको संलग्नताको विषयमा सर्वोच्च अदालतले चासो बढाएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवास जग्गा प्रकरणमा उनीहरुको संलग्नताका विषयमा सीआईबी र सरकारी वकिलसँग लिखित जवाफ मात्र मागेको छैन, यसअघि अख्तियारले दिएको उन्मुक्तिसम्बन्धी रिटमा पनि चासो देखाएको छ ।

https://barnanmedia.com/detail/1695769823-l-i-e-l-ii-l-b-rp-23-09-27

१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी भारत तीन स्वर्ण, तीन रजत र ६ कास्यसहित १२ पदकका साथ छैटौँ स्थानमा छ । इन्डोनेसिया तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित नौ पदकका साथ सातौँ, चाइनिज ताइपेई दुई स्वर्ण, तीन रजत र तीन कास्यसहित आठ पदक प्राप्त गर्दै आठौँ, थाइल्याण्ड दुई स्वर्ण र पाँच कास्यका साथ नवौँ तथा इरान एक स्वर्ण, चार कास्य र पाँच कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

https://barnanmedia.com/detail/1695770945-el-l-aa-l-do-23-09-27

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिनाथसम्मको यात्रा गरिने

आगामी शुक्रबार येँया पुन्हिको दिन मध्यपुरथिमिको लाय्कु दरबार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएको छ ।

आज मध्यपुरथिमि नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक एवं धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो जात्रालाई सहजरूपमा सम्पन्न गर्न नगरवासीमा आह्वान गर्नुभयो ।

उहाँले तीन सय ५० वर्षभन्दा अगाडिदेखि जिब्रो छेडिँदै आएको यो जात्रालाई निरन्तरता दिन र यस वर्षको जात्रा सहजरूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वमाझ फैलिने भन्दै धेरै जोखिमका बीच हुने जात्रालाई सहजरूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

व्यक्तिगत लगानीमा प्रतीक्षालय निर्माण

म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाखभन्दा बढी लगानीमा सुविधा सम्पन्न प्रतीक्षालय निर्माण गर्नुभएको छ ।

सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ वर्षीय दीनानाथ पौडेलले आफ्ना दिवङ्गत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा रु २१ लाख ११ हजार पाँच सय ५५ लगानीमा पक्की प्रतीक्षालय निर्माण गर्नुभएको हो ।

काठमाडौँमा बसोबास रहे पनि गाउँको विकास निर्माण र सामाजिक कार्यमा सक्रिय रहनुभएका पौडेलले बेनी–दरबाङ सडकखण्ड र सिंगाको वडा कार्यालय जाने पौडेल चोकमा पक्की प्रतीक्षालय निर्माण गर्नुभएको वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीय धौलागिरि माध्यमिक विद्यालयमा रु एक लाख २५ हजार सहयोग गर्नुभएका पौडेलले युवा क्लब, आमा समूहलगायतका स्थानीय सङ्घ संस्थासँग समन्वय गरी सामाजिक र विकास निर्माण योजनामा निरन्तर सहकार्य गर्दै आउनुभएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना बढ्यो

पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा अबदेखि न्यूनतम जरिवाना रु पाँच हजार पुर्याउने निर्णय भएको जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणः आजबाट थुनछेक बहस सुरु

काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज देखि थुनछेक बहस सुरु हुनेछ ।

जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो । थुनछेक बहस सकिएपछि थुनामा पठाउने या धरौटी माग गर्ने भन्नेबारे अदालतले थुनछेक आदेश दिनेछ। सुन प्रकरणमा विदेशी र स्वदेशी गरी २६ जना हिरासतमा छन्।

६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउन सर्वोच्चको परमादेश

पोखरास्थित फेवाताल किनाराबाट ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन सर्वोच्च अदालतले पोखरा महानगरपालिकासहितका विपक्षीका नाममा परमादेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र हरि फुयालको संयुक्त इजलासले असार ४ गते गरेको फैसलाको पूर्ण पाठ अहिले सार्वजनिक भएको हो ।

पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटरसम्मको क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने ठहर गरेको हो ।

https://barnanmedia.com/detail/1695779468-l-b-u-k9-23-09-27

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।

कोशी प्रदेशको १४ जिल्लामै डेङ्गु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उहाँको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।

ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो

ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम बनाएको छ । तर व्यवसायीले सो कानुनी व्यवस्थाविपरीत म्याग्दी नदीबाट बर्खायाममा बालुुवा उत्खनन गरेर थुपारेका थिए ।

तोलावाङ, पतेनी, शिवरात्रिखोला, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताबिनै बालुुवा उत्खनन भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “अनुगमन गर्ने क्रममा सात ठाउँमा बालुवा निकालेर थुपारेको भेटिएको थियो”, उहाँले भन्नुभयो, “उनीहरूलाई गत भदौ ११ गते रु नौ लाख ५० हजार जरिवाना तोकिएकामा एक जनाले मात्र तिरेका छन् । अरुले जरिवाना तिर्न आनाकानी गरेका छन् ।” उत्खननमा संलग्नहरूले भण्डारण गरेको ठाउँबाट बालुवा बिक्री गर्ने र अन्यत्र सारेका छन् ।

धुलिखेलका महिलालाई जापनिज भाषा र सीप

धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग छमहिने सम्झौता गरेको थियो ।

सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइने र रोजगारीमा सिकेको सीपलाई प्रयोग गरी धुलिखेलमा जापानिज प्रविधिमा कृषि उत्पादन तथा सिकाइ गर्नुपर्ने उल्लेख गरिएको छ । सोहीअनुसार जापानिज भाषा तथा सीप कक्षाको गत वैशाखदेखि सुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । “सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने भएकाले प्रारम्भिक चरणमा स्थानीय युवा महिलालाई कक्षा सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह

काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिनुभयो । गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उहाँको भनाइ थियो ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उहाँले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताउनुभयो ।

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप रु १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ ।

गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।

पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । ती पर्यटकीयस्थलको प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् । तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छाडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ– पोखरालगायतका सहर घुम्न जाने गरेको बताउनुभयो । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउनेक्रम बढेको छ ।” अध्यागमन कार्यालयको तथ्याङ्कानुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन । सप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर

चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।

कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।हाङझावस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

नेपालका लागि कुशलले अविजित सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।

https://barnanmedia.com/detail/1695785535-ll-l-po-23-09-27

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो । ढुङ्गेनी गाउँले परिचित गाउँमा पर्यटकको नजर जान्थ्यो र उनीहरूलाई एक रात त्यहीँ बस्न मन चाहन्थे । तर, घान्द्रुकमा त्यो समय होटल, रेष्टुरेण्ट थिएन ।

गाउँमा अङ्ग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो । सोही समय पर्यटकको सारथि बन्नुभयो, घान्द्रुकका शङ्करमान गुरुङ । विसं २०२६ मा उहाँलेले घान्द्रुककै मेश्रम वराह विद्यालयमा भर्खर–भर्खर पढाउन थाल्नुभएको थियो । अङ्ग्रेजी विषय पढाउने उहाँलाई भाषा नआउने कुरै भएन ।

अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर्वाेच्चबाट जोगिएलान ?

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छुट्टाछुट्टै अनुसन्धान गरे । दुबै निकायले अदालतमा मुद्दा दायर गरेका छन् । तर, जग्गा हिनामिना भएको भनिएको निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई प्रतिवादी बनाइएन । उनीहरुको संलग्नताको विषयमा न्यायिक परीक्षण गरिएन ।

अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ भने सिआइबीले सरकारी वकिलको कार्यालयमार्फत् किर्ते मुद्दा चलाएको छ । भ्रष्टाचार मुद्दामा अख्तियारले मन्त्रिपरिषदको निर्णय नीतिगत भएकाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भनेर उन्मुक्ति दिएको हो । सिआइबीले अनुसन्धान गर्दै जाँदा सर्वाेच्चले निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न भने पनि सिआइबीले नेपाल र भट्टराईलाई प्रतिवादी बनाएन ।

https://barnanmedia.com/detail/1695786023-a-aaibb-e-l-bb-ii-b-el-cc-23-09-27

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन ।

मंगोलियाविरुद्धको खेलमा नेपालकाे २७३ रनको कीर्तिमानी जित

एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।

नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

https://barnanmedia.com/detail/1695788131-l-l-l-hw-23-09-27

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभएको हो । विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो ।

बिहान टर्किस एयरलाइन्सबाट आएका विदेशी पर्यटकलाई विमानस्थलमा स्वागत गरी पर्यटन दिवसका विभिन्न कार्यक्रम भइरहेको छ । यस्तै बिहान प्रभातफेरी गरिएको छ । ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो । अहिले पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रममा भइरहेको छ ।

जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

यसअन्तर्गत बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

साफ च्याम्पियनसिप : नेपाल र भारतबीचमा खेल हुँदै

यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपाल आमने–सामने हुँदैछन् । समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने भारतले भुटानलाई २–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ ।” गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उहाँले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गर्नुभयो ।

प्रधानमन्त्री दाहाल ल्हासामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुग्नुभएको छ । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुग्नुभएका हो ।

उहाँलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुहुने कार्यक्रम छ ।

बारामा भारतीय नागरिकको हत्या

बाराको पचरौता नगरपालिका-६ लक्ष्मिनियास्थित पोखरी नजिकै एक भारतीय नागरिकको गोली प्रहार गरी हत्या भएको छ।

भारतको मोतिहारी जिल्ला दर्पा थाना-१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहका छोरा २२ वर्षीय अजितकुमार सिंहको हत्या भएको हो। मंगलबार साँझ ६:१० बजे नेपाल-भारत सीमाभन्दा करीब सात सय मिटर वर उनको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई वटा अन टेस्ट मोटरसाइकलमा एकै ठाउँका २५ वर्षीय सुजितकुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी नेपाल प्रवेश गरेका थिए। तीमध्ये सुजितकुमारले अजितकुमारलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।