म्याग्दीका श्रेष्ठलाई नानी–शुक स्मृति पुरस्कार

काठमाडाैँ।म्याग्दीका अगुवा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ रु २५ हजारभन्दा बढी पुरस्कार राशिको नानी–शुक स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

नानी–सुक स्मृति प्रतिष्ठानले १७ औँ वार्षिकोत्सवका अवसरमा आज पोखरामा बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय श्रेष्ठलाई सम्मान गरेको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई नगद रु २५ हजार पाँच सय २५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मान गर्नुभयो ।

म्याग्दीको समग्र विकासमा उहाँले गरेको योगदानका आधारमा सम्मान गरिएको प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका संस्थापक र मानार्थ सदस्य श्रेष्ठले मङ्गला गाउँपालिकाको प्रभात आधारभूत विद्यालयलाई कक्षाकोठा भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।

ज्येष्ठ नागरिक समाजका अध्यक्षसमेत रहनु भएका सम्मानित व्यक्तित्व विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील रहँदै आउनुभएको छ । म्याग्दीमा यानीमाया गाउन होस् वा विभिन्न जात्रामा मौलिक नाच नाच्न उनी सधैँ अघि सर्नुुहुन्छ ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा रु नौ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत हुनुभएको छ ।