सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुन्छ : अध्यक्ष ढकाल

काठमाडाैँ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रमा देखिएका समस्या कम हुने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार र नियमनकारी निकायले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधानतर्फ उन्मुख हुने बताउनुभयो ।

पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उहाँको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राख्नुभयो । अध्यक्ष ढकालले निजी क्षेत्रका तीन वटा संस्थाले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझाव दिँदासमेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजी क्षेत्रका तीन वटा संस्थाले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटा भ्वाइसमा सुझाव दियौँ । त्यो सुझाव कार्यान्वयन हुन सकेन । निजी क्षेत्रको समस्याका विषयमा सरकार र नियमनकारी निकायले बेवास्ता गर्दा अर्थतन्त्रमा असजिलो आएको छ तर पछिल्लो समय धेरै आशाको किरण देखिएको छ ।”

अध्यक्ष ढकालका अनुसार रेमिट्यान्स निरन्तररुपमा वृद्धि भएको छ भने पर्यटन आगमनमा पनि वृद्धि भएको छ । “बैंकहरुमा तरलता बढ्दै गएको छ । देशमा अब केबल सरकार र नियमनकारी निकायको तर्फबाट सर्वसाधारणको मनोबल बढाउने नियमनकारी निकायले सिस्टमलाई नबिगारी उद्योगी व्यवसायी र जनताको आत्मबल बढ्ने नीति अपनाउनुपर्ने खाँचो छ ।”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बताउनुभयो । उहाँले रेमिट्यान्स, पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको बताउनुभयो । उहाँले अर्थतन्त्रका आयाममा सकारात्मक सङ्केत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।